काठमाडौं ।
नेपाली संगीतमा नयाँ पुस्ताको भावना, सिर्जनशीलता र मौलिकतालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित एक्स्ट्रिम इनर्जी ड्रिंकले ‘एक्स्ट्रिम म्युजिक सिरिज’ सुरु गरेको छ । अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक संगीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।
एक्स्ट्रिम इनर्जी ड्रिंकको अवधारणामा आधारित यस सिरिजको व्यवस्थापन आर्बिट्ररी रेकर्ड्स र निर्माण एनएफटीपी (नर्थ फ्रेम दिस प्लानेट) ले गरिरहेका छन् । सिरिजअन्तर्गत प्रत्येक दुई सातामा एउटा नयाँ मौलिक गीत सार्वजनिक गरिनेछ। गीत तथा संगीत भिडियोहरू ‘एक्स्ट्रिम म्युजिक सिरिज’को युट्युब च्यानलमार्फत हेर्न र सुन्न सकिनेछ ।
पहिलो सिजनमा याबेश, एसटीम्यान, भेक, व्योमा, ब्लुज, बिजेन, फोक्टोनिक्स, डोङ र ट्रिजेन गरी नौ जना कलाकार सहभागी हुनेछन् । प्रत्येक कलाकारले आफ्नो छुट्टै संगीत शैली र सिर्जनात्मक पहिचानमार्फत सिरिजलाई थप रोचक बनाउने अपेक्षा गरिएको छ ।
परम्परागत शैलीभन्दा फरक नयाँ संगीत प्रयोग, सिर्जनात्मक सहकार्य र स्वतन्त्र अभिव्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले यो पहल गरिएको आयोजकले जनाएको छ। यसले नेपाली संगीत क्षेत्रमा नयाँ प्रतिभालाई उजागर गर्नुका साथै स्थानीय संगीत संस्कृतिको प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
नयाँ पुस्ताका कलाकारलाई आफ्नो सिर्जनात्मक क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गर्दै नेपाली संगीतमा नवीन प्रयोग र मौलिक सिर्जनालाई प्रोत्साहन गर्नु सिरिजको मुख्य लक्ष्य रहेको छ ।













