नवलपरासी ।
गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरी सवारी दुर्घटना न्यूनीकरण र यात्रुको सुरक्षित यात्राका लागि थप सक्रिय भएर काम गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन् । मातहतका कार्यालयहरूको अनुगमन तथा निरीक्षणका क्रममा एसपी काफ्लेले जिल्ला ट्राफिक प्रहरी कार्यालय, नवलपरासी तथा मातहतका ट्राफिक प्रहरी पोस्टहरूको अनुगमनका क्रममा यस्तो निर्देशन दिएका हुन् ।
अनुगमनका क्रममा उनले चाडपर्वमा सवारीसाधनको चाप बढ्ने भएकाले सवारी आवागमन व्यवस्थापन, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन र दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राखेर काम गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिए । उनले तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति नियन्त्रण, मादक पदार्थ सेवन गरी सवारी चलाउने कार्यको निगरानी तथा ट्राफिक नियम उल्लङ्घन नियन्त्रणमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए । सवारीसाधनको चापअनुसार ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन र यात्रुलाई सुरक्षित तथा सहज यात्रा सुनिश्चित गर्न पनि उनले निर्देशन दिए ।
ट्राफिक प्रहरीको कार्यसम्पादन प्रभावकारी बनाउन यात्रुमैत्री व्यवहार, जिम्मेवारीप्रतिको प्रतिबद्धता र परिणाममुखी कार्यशैली आवश्यक रहेको उनको भनाइ थियो। साथै, सडक सुरक्षासम्बन्धी कामलाई प्रभावकारी बनाउन स्थानीय तह, यातायात व्यवसायी, चालक, नागरिक तथा अन्य सरोकारवाला निकायसँग समन्वय र सहकार्य बढाउनुपर्नेमा उनले जोड दिए ।
चाडपर्वका बेला सडकमा सवारी चाप बढ्ने, लामो दूरीका यात्रुको आवागमन तीव्र हुने तथा ट्राफिक नियम उल्लङ्घनको जोखिम बढ्न सक्ने भएकाले सम्भावित दुर्घटना रोक्न ट्राफिक प्रहरीको उपस्थिति र सक्रियता बढाउनुपर्ने उनको निर्देशन थियो । अनुगमनका क्रममा ट्राफिक प्रहरी कार्यालय तथा मातहतका पोस्टहरूको कार्यसम्पादनको निरीक्षण गर्दै काफ्लेले नागरिकको सुरक्षा, सहज आवागमन र दुर्घटनारहित यात्रालाई केन्द्रमा राखेर जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका हुन् ।












