काठमाडौं ।
दशौं संस्करणको आईसीसी टी-२० विश्वकपको उपाधि आयोजक भारतले जितेको छ । आईतबार राति भएको फाइनल खेलमा न्युजिल्यान्डलाई ९६ रनको फराकिलो अन्तरले हराउँदै भारतले लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक विश्वकपको उपाधि जितेको हो ।
आइतबार राति भारतले दिएको २ सय ५६ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्ड १९ ओभरमा १ सय ५९ रनमा अलआउट भयो । न्युजिल्यान्डलाई कम स्कोरमा रोक्न जसप्रित बुमराहले ४ विकेट लिए । घातक बलिङ गरेका उनले आफ्नो स्पेलमा मात्र १५ रन मात्र खर्चे ।
अक्षर पटेलले ३ विकेट लिए । हार्दिक पाण्ड्या, वरुण चक्रवती र अविशेक शर्माले समान १ विकेट आफ्नो नाममा गरे । पहिलो पटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा रहेको न्युजिल्यान्डले फाइनलमा राम्रो प्रदर्शन गर्न सकेन । न्युजिल्यान्डका ब्याटर लामो समय क्रिजमा टिक्न नसक्दा घरेलु टोलीसामु निरिह देखिए । टोलीका ३ ब्याटरबाहेक अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
न्युजिल्यान्डका लागि ओपनर टिम साइफेर्टले बनाएको ५२ रन नै सर्वाधिक रह्यो। उनले २६ बलमा २ चौका र ५ छक्का प्रहार गरे । कप्तान मिचेल सान्टनरले ३५ बलमा ३ चौका र २ छक्का सहयोगमा ४३ रन बनाए । न्युजिल्यान्ड एक समय ८.१ ओभरमा ५.७२ को अवस्थामा थियो ।
फिन एलेन ९, रचिन रविन्द्र १, ग्लेन फिलिप्स ५ र मार्क चापमान ३ रनमा पेभेलियन फर्के । डार्ली मिचेले ११ बलमा २ छक्का सहयोगमा १८ रन थपे ।
त्यसअघि भारतको अहमावादस्थित नरेन्द्र मोदी स्टेडियममा न्युजिल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको घरेलु टोली भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ५५ रनको विशाल योगफल तयार पारेको थियो ।
पहिलो विकेटका लागि ओपनर सञ्जु सामसन र अविशेक शर्माले ७.१ ओभरमा ९८ रनको साझेदारी गरेका थिए। आठौँ ओभरको पहिलो बलमा ओपनर अविशेक २१ बलमा ६ चौका र ३ छक्का सहयोगमा ५२ रन बनाउँदा रचिन रविन्द्रको बलमा क्याच आउट हुन पुगे ।
दोस्रो विकेटका लागि सञ्जु र इसान किसानले १ सय ५ रनको साझेदारी गरे । ओपनर सञ्जु ८९ रन बनाउँदा जिम्मी निसमको बलमा क्याच आउट नै भए । उनले ४६ बलमा ५ चौका र ८ छक्का प्रहार गरे । जिम्मीले १५औँ ओभरमा लगातार तीन विकेट लिँदै भारतलाई दबाबमा राखेका थिए। २५ बलमा ४ चौका र ४ छक्का प्रहार गरेका इसान किसान ५४ रन बनाउँदा जिम्मीको बलमा नै क्याच आउट भए ।
हार्दिक पाण्ड्या १८ रनमा पेभेलियन फर्के। शिवम दुवे २६ र तिलक बर्मा ८ रनमा अविजित रहे । न्युजिल्यान्डका लागि जिम्मी निसमले ३ विकेट लिए। म्याट हेन्री र रचिन रविन्द्रको नाममा समान एक विकेट रह्यो ।
घरेलु मैदानमा न्युजिल्यान्डलाई हराउँदा भारतले तीन कीर्तिमान आफ्नो नाममा गरेको छ । यो जितसँगै भारत आयोजकले विश्वकपको उपाधि जित्ने पहिलो टोली बनेको छ । यस्तै लगातार दोस्रो पटक विश्वकपको उपाधि जित्ने पहिलो टोली पनि बनेको हो । अहिलेसम्म विश्वकपको उपाधि कुनै पनि टोलीले लगातार जित्न सकेका छैनन् ।
भारत विश्वकपको तीन उपाधि उचाल्ने पहिलो टोली बनेको हो । भारतले यसअघि सन् २००७ र २०२४ को विश्वकपको उपाधि उचालेको थियो।
इंग्ल्यान्डले सन् २०१० र २०२२ तथा वेस्ट इन्डिजले सन् २०१२ र २०१६ को विश्वकप जितेका थिए। पाकिस्तानले सन् २००९, श्रीलंकाले सन् २०१४, अस्ट्रेलियाले सन् २०२१ मा विश्वकपको उपाधि जितेका थिए ।














