मस्कट ।
अमेरिका र इरानबचि थप वार्ता आगामी बिहीबार स्विट्जरल्यान्डको जेनेभामा हुने ओमानले पुष्टि गरेको छ । ओमानका विदेशमन्त्री बद्र अल्बुसैदीले आइतबार सामाजिक सञ्जालमार्फत वार्ताको मिति तय भएको जानकारी दिएका हुन् ।
वार्ताले सम्झौता अन्तिम रूप दिन अतिरिक्त प्रयास गर्ने सकारात्मक वातावरण बनेको पनि उनले उल्लेख गरेका छन् । पछिल्लो समय दुई देशबीच तनाव बढिरहेका बेला यो घोषणा आएको हो । विशेषगरी अमेरिकाले मध्यपूर्वमा सैन्य उपस्थिति बढाइरहेको खबरले सम्भावित द्वन्द्वको चिन्ता बढाएको छ ।
यसअघि इरानका विदेशमन्त्री अब्बास अराघ्चीले तेहरान आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण रहेको सुनिश्चित गर्न पूर्ण निगरानी संयन्त्र लागू गर्न तयार रहेको बताएका थिए । यसले तनाव कम गर्न मद्दत पुग्ने विश्वास उनले व्यक्त गरेका थिए ।
अमेरिकी सैन्य जमघट र सम्भावित तनावबीच इरान किन आफ्नै भूमिमा युरेनियम समृद्धि गर्न चाहन्छ भन्ने प्रश्नमा अराघचीले यो विषय इरानीहरूको गरिमा र गौरवसँग जोडिएको बताएका छन् । उनका अनुसार इरानी वैज्ञानिकहरूले आफ्नै प्रयासमा विकास गरेको प्रविधि भएकाले त्यसलाई अत्यन्त मूल्यवान मानिन्छ ।
ओमानले मध्यस्थता गर्दै आएको अमेरिका–इरान वार्तालाई क्षेत्रीय स्थिरताका लागि महत्वपूर्ण मानिएको छ । जेनेभा वार्ताबाट परमाणु विवाद समाधानतर्फ ठोस प्रगति हुने अपेक्षा गरिएको छ । एजेन्सी














