पोखरा।
नेकपा एमाले कास्की क्षेत्र नं. २ का उम्मेदवार रश्मि आचार्यले बाँदरको समस्या राष्ट्रिय समस्या बनेको र यसको व्यवस्थापनका लागि छुट्टै प्रभावकारी कानुन आवश्यक भएको दाबी गरेका छन् ।
उनले देशैभरका कृषकका उत्पादन बाँदरले नष्ट गर्नुका साथै कतिपय ठाउँमा स्थानीयहरूलाई समेत आक्रमण गरेका घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
उम्मेदवार आचार्यले बाँदरको समस्याको दीर्घकालीन व्यवस्थापन जरुरी देखेको भन्दै त्यसका लागि संसदमार्फत ऐन कानुन निर्माण गरि प्रभावकारी कार्यान्वयनका लागि अगुवाई गर्ने प्रतिवद्धता व्यक्त गरे ।
आसन्न निर्वाचनका सन्दर्भमा मतदाता भेट्न पोखरा २१ का विभिन्न स्थान पुग्ने क्रममा स्थानीयहरूका गुनासा सुनेपछि उम्मेदवार आचार्यले सो कुरा उल्लेख गरेका हुन् ।
विभिन्न कारणले वनजंगलको विनाश हुँदा खानेकुरा अभाव हुनु, बासस्थानको अभाव जस्ता कारणले बाँदर मानव बस्तितर्फ आर्कषित भएको उनको भनाई छ । सोको व्यवस्थापनका लागि लागि ऐन कानुन मार्फत नीतिगत पहल गर्नुको विकल्प नभएको आचार्यले बताए ।
स्थानीय पालिकास्तरमा विभिन्न ठाउँमा जंगलहरूलाई बाँदर आरक्षण क्षेत्र निर्माण गर्ने, जंगली फलफूल सहित खानेकुरा उत्पादन र प्रर्वद्धन गर्न सके बाँदर आफ्नो बासस्थानमै रहन सक्ने उनको तर्क छ ।
सुशासनका लागि बाधक विद्यमान ऐन कानुन नीति नियम संशोधन र नयाँ नीति तर्जुमा आवश्यक भएको भन्दै उम्मेदवार आचार्यले आर्थिक विकास र राजनीति स्थिरताका लागि संविधानमा समयानुकूल उपयुक्त संसोधन समेत आवश्यक भएको उल्लेख गरे ।
कास्की दुईको विशिष्टता अनुसार ‘सबको साथ सबको विकास’,’सँगसँगै विकास र जीवनसँग जोडिएको विकास’ अवधारणा आवश्यक भएको एमालेका प्रभावशाली वैचारिक युवा नेता आचार्यले उल्लेख गरे ।













