कांग्रेसलाई मत माग्दै गण्डकीका मुख्यमन्त्री पाण्डे गोरखामा

केन्द्रभाग मिडिया

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे यतिबेला कांग्रेसलाई मत माग्दै गोरखा पुगेका छन् । पाण्डेले गोरखा–२ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीको पक्षमा मत माग्न हिँडेका हुन् । पाण्डेले निर्वाचन आयोगबाट अनुमति लिएर गृह जिल्ला गोरखाका उम्मेदवार दवाडीको चुनावी कार्यक्रममा सहभागी भएका हुन् ।

मुख्यमन्त्री पाण्डेले कांग्रेसले प्रदेशबाट गरेका काम देखाएर भोट मागिरहेका हुन् । प्रदेश सरकारले विगत ३ वर्षमा ल्याएको बजेट र यो आर्थिक वर्षमा प्रदेश सरकारको रातो किताबमा गोरखा जिल्लामा विनियोजन गरेको बजेटको हिसाब देखाउँदै मत मागेका हुन् ।

‘प्रदेश सरकारको रातो किताबमा गोरखा जिल्लामा विनियोजन गरेको बजेटको एक–एक हिसाब मसँग छ’ मुख्यमन्त्री पाण्डे चुनावी कार्यक्रममा भने, ‘तपाईँहरूको सबै माग पूरा भयो त म भन्दिनँ, तर धेरै भएको छ ।’

उनले गोरखाको विकासका लागि कांग्रेसका उम्मेदवारलाई विजय गराउन आग्रह गरे । ‘सरकार बनाउन कांग्रेसलाई बहुमत चाहिन्छ, समानुपातिकमा पनि रुखमै भोट हाल्नुहोस्,’– उनले भने ।

गोरखा २ ९२० बाट गण्डकी प्रदेशसभामा निर्वाचित मुख्यमन्त्री पाण्डेले आफूले चुनावमा गरेको वाचा पूरा गर्न उन्मुख रहेको बताउँदै सङ्घमा पनि कांग्रेस उम्मेदवारलाई जिताउन आग्रह गरिरहेका छन् ।

नेपाली कांग्रेस गोरखा – २ ले आयोजना गरेको पालिका स्तरीय चुनावी सभामा सहभागी हुन फागुन ५ गतेदेखि १० गतेसम्म गण्डकी प्रदेश संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री पाण्डे गोरखामा छन् ।

  • १० फाल्गुन २०८२, आईतवार १४:२७ प्रकाशित