पोखरा।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज कृष्ण थापाले आफुहरू बृहत एकता सहित निर्वाचनमा होमिएकोले सबैजना सुक्ष्मरूपले निर्वाचनको तयारीमा जुट्न आग्रह गरेका छन् ।
पार्टीको नीति र कार्यदिशा मुताविक कास्की २ का जनताले प्रभावशाली बौद्धिक युवा उम्मेदवार उठाएको बताउँदै उनले पोखराको व्यवस्थित विकासमा रश्मि आचार्यको जित अपरिहार्य भएको जिकिर गरे ।
एमाले नेता थापाले एमाले कास्की २ का उम्मेदवार रश्मि आचार्यको मतदाता साक्षात्कार कार्यक्रमको पोखरा १६ मा शुभारम्भ गर्दै उक्त कुरा बताएका हुन् ।
उनले देश र जनताको सेवा तथा पार्टीको नीति निर्णयमा सधैं आफूहरु प्रतिबद्ध रहेको बताए । बजारमा फैलाइएका निराधार हल्लाहरूले एमाले कमजोर नहुने उनले उल्लेख गरे ।
सो अवसरमा उम्मेदवार रश्मि आचार्यले माटोको कसम खाएर आफू राजनीतीमा सेवा भावले उत्प्रेरित भएर लागेको बताए । जनहित र विकास बाहेक आफ्नो कुनै स्वार्थ नरहेको उनको भनाई छ ।
‘
कार्ययोजना र कार्यान्वयनको प्रष्ट खाका प्रतिबद्धता पत्र मार्फत सार्वजनिक गरेको छु ।’ उनले भने—‘अब विकास र समविकास सँगसँगै एकसाथ गर्नुपर्नेछ । यस कार्यका लागि तपाईहरुको साथ र सहयोगले नै मेरो जीत सम्भव छ ।’
त्यसैगरि एमाले केन्द्रिय सदस्य प्रभा कोइरालाले आम युवा र कास्कीको भरोसाको उम्मेदवार आचार्य पाउनु गौरवको विषय भएको बताईन् । श्रमजीवी महिला, युवा र श्रमिकहरूका पक्षमा प्रष्ट विचार दिन सक्ने उम्मेदवार आचार्य भएको जिकिर गर्दै उनले कास्की २ अर्को अग्रगामी छलाङको लागि तयार भएको उल्लेख गरिन् ।
समानुपातिक उम्मेदवार दिपक पौडेलले समन्यायिक विकास र सबै क्षेत्रको सन्तुलित विकासको अवधारणा तयार पार्ने पार्टी एमाले भएको हुँदा ढुक्कसँग एमालेलाई जिताउन आग्रह गरे ।
एमालेका वरिष्ठ नेता सोमनाथ अधिकारी प्यासीले कास्की २ ले चम्किलो सूर्य झन तेजिलो बनाउने भन्दै देश र जनताका लागि काम गर्ने उर्जावान उम्मेदवार आचार्य नै जनताको रोजाईमा रहनेमा आफू विश्वस्त भएको उल्लेख गरे ।
सो पार्टीका निवर्तमान प्रदेश कमिटी सदस्य तेजनारायण अधिकारी, पोखरा महानगर कमिटी अध्यक्ष जीवनप्रसाद आचार्य सहित उल्लेख्य नेता कार्यकर्ताको सहभागिता रहेको थियो । जनताको घरदैलो अभियानमा रहेका आचार्यलाई जिताउन स्थानीयहरू उत्साहका साथ लागि परेको एमाले पोखरा १६ का वडा कमिटि अध्यक्ष यमनकाजी गुरुङले जानकारी दिए ।














