प्रतिज्ञापत्र सार्वजनिक गर्ने सभाको तयारी पूरा

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीले तयार पारेको प्रतिज्ञापत्र सार्वजनिक गर्ने सभाको तयारी पूरा भएको जनाएको छ ।

बुधबार जनकपुरधामस्थित तिरुहुतिया गाछीमा हुने सभाको तयारी पूरा भएको कांग्रेस मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवले मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन् ।

पत्रकार सम्मेलनमा मधेसका मुख्यमन्त्रीसमेत रहेका यादवले सभामा प्रदेशका ८ जिल्लाका लाख बढी नेता कार्यकर्ताको सहभागिता हुने जानकारी दिए ।

सभापति गगन थापासहितका केन्द्रीय पदाधिकारीहरूले सम्बोधन गर्ने सभा कांग्रेसको पहिलो चुनावीसभा समेत हो ।

‘हामीले प्रदेशका ८ जिल्लाका जिल्लाका सङ्गठनात्मक संरचना सक्रिय पारेर कम्तीमा एक लाख जनसहभागिता सुनिश्चित गर्ने लक्ष्य राखेका छौँ,’ यादवले पत्रकार सम्मेलनमा भने, ‘यो सभा मधेसमा कांग्रेसको शक्ति प्रदर्शन मात्र होइन, आगामी निर्वाचनको आधार तयार गर्ने ऐतिहासिक कार्यक्रम हुनेछ ।’

यादवले सभामा सार्वजनिक गर्ने प्रतिज्ञापत्रमा मधेसको विकास, रोजगारी, कृषि आधुनिकीकरण, शिक्षा–स्वास्थ्य सुधार, पूर्वाधार विस्तार तथा सुशासनका एजेन्डा प्राथमिकतामा रहने जानकारी दिए ।

  • ५ फाल्गुन २०८२, मंगलवार १७:०७ प्रकाशित