नाइजर ।
नाइजेरियामा बोको हराम र आइएसआइएस सम्बद्ध समूहहरूको हिंसा बढ्दै गएपछि अमेरिकाले १०० जना सैनिकलाई उत्तरी नाइजेरियामा पठाएको छ । नाइजेरियाको रक्षा मुख्यालयका प्रवक्ता समाइला उबाले सोमबार सैनिकहरू बाउची क्षेत्रमा पुगेको पुष्टि गरेका हुन् ।
उनका अनुसार अमेरिकी सैनिकहरू प्रत्यक्ष लडाइँमा सहभागी हुने छैनन् । तर प्राविधिक सहयोग, तालिम र गुप्तचर सूचना आदान प्रदानमार्फत नाइजेरियाली सुरक्षा बललाई सहयोग गर्नेछन् ।
उनीहरूले आवश्यक उपकरणसमेत साथमा ल्याएको जनाइएको छ । यो निर्णय पछिल्ला दिनमा बढ्दो हिंसापछि आएको हो । गत सप्ताहान्त मोटरसाइकलमा आएका बन्दुकधारीहरूले उत्तरी नाइजेरियाका तीन गाउँमा आक्रमण गर्दा कम्तीमा ४६ जनाको मृत्यु भएको थियो । नाइजर राज्यको कोनकोसो गाउँमा मात्र कम्तीमा ३८ जनाको हत्या गरिएको थियो ।
नाइजेरिया लामो समयदेखि बोको हराम, इस्वाप र अन्य अपहरण तथा अवैध उत्खननमा संलग्न सशस्त्र समूहहरूको हिंसासँग जुधिरहेको छ । हाल छिमेकी साहेल क्षेत्रका लडाकु समूहहरू पनि सक्रिय हुन थालेपछि सुरक्षा चुनौती थप जटिल बनेको छ ।
संयुक्त राष्ट्रसङ्घका अनुसार यस हिंसामा हजारौँ मानिस मारिएका छन् । विश्लेषकहरूका अनुसार आक्रमणमा इसाई र मुस्लिम दुवै समुदाय प्रभावित भए पनि मुस्लिम बहुल उत्तरी क्षेत्रमा अधिकांश घटना हुने गरेका छन् ।एजेन्सी














