भोलिदेखि कांग्रेसको ‘फागुन २१ का लागि मेरो २१ दिन’ अभियान सुरु हुदैं

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनका लागि पार्टी सम्बद्ध नेता कार्यकर्तालाई परिचालन गर्न ‘फागुन २१ का लागि मेरो २१ दिन’ कार्यक्रम सुरु गर्ने भएको छ ।

यो अभियान फागुन १ गते (भोलि)बाट सुरु हुनेछ । आइतबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठकले निर्वाचनलाई लक्षित गर्दै यस्तो कार्यक्रम गर्ने गरी गरेको निर्णय बिहीबार परिपत्र गरेको छ ।

परिपत्र गरिएको निर्देशिकाको बुँदा नं २१ मा यो विषय उल्लेख छ । कार्यसम्पादन समितिले ‘फागुन २१ का लागि मेरो २१ दिन’ भन्ने प्रतिबद्धता साथ फागुन १ देखि २१ गतेसम्म ‘जसको पदीय जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’ नीति अन्तर्गत पार्टीका सबै साथीहरू चुनाव मैदानमा खट्नुहुनेछ,’ भन्ने निर्णय गरेको थियो ।

यसरी खटिँदा केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रले निश्चित जिम्मेवारी साथ निश्चित ठाउँमा तोकेका प्रतिनिधि यथास्थानमा कार्य सकेर पुनः आफ्नै जिल्ला, क्षेत्र र पालिका र वडामा केन्द्रित रहन भनिएको छ ।

यस्तै तोकिएको जिम्मेवारी लिएर अन्यत्र गएका बाहेक अरू सबै तहका पार्टी पदाधिकारी र सदस्यहरू आ–आफ्नो क्षेत्र, पालिका र वडामा केन्द्रित रहन भनिएको छ ।

यसैगरी एउटा वडाको क्रियाशील सदस्य अर्को वडामा नगएर ‘हाम्रो वडा हामी जिताउँछौँ’ उद्घोषका साथ आ–आफ्नै वडामा खट्न कांग्रेसले भनेको छ ।

कांग्रेसले पार्टीका सबै भ्रातृ र शुभेच्छुक संस्थामा आबद्धहरूलाई सोही बमोजिम जिम्मेवारी निभाउन आग्रह गरेको छ।

  • २९ माघ २०८२, बिहीबार १६:१० प्रकाशित