जसपा नेपालका नेता मनिष मिश्र कांग्रेस प्रवेश गर्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय समन्वय समितिका सदस्य मनिष मिश्र नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन् । सर्लाही–४ मा टिकट नपाएपछि असन्तुष्ट रहेका उनी कांग्रेस प्रवेश गर्ने भएका हुन् ।

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको महासचिव रहिसकेका उनी जसपा नेपालमा अभिभावकत्वको अभाव देखेर पनि पार्टी छाडेको बताइएको छ । लोसपा नेपालले जसपा नेपालसँग एकता गरिसकेको छ । जसपा नेपालका संरक्षक महन्थ ठाकुर राष्ट्रिय सभामा गइसकेका छन् ।

सर्लाही–४ महन्थ ठाकुरको पुरानो क्षेत्र हो । सो क्षेत्रमा आफूले महन्थ ठाकुरलाई अभिभावकको रूपमा नपाएको बताउँदै नेता मिश्रले वर्षौँदेखि चुनावको तयारी गरेको तर अन्तिममा माओवादीबाट आएका रामेश्वर रायलाई टिकट दिएको गुनासो गरे ।

केही दिनमा कांग्रेस पार्टीमा प्रवेश गर्ने तयारी भइरहेको बताउँदै उनले आफू जहाँ रहेपनि लोकतन्त्र र मधेसको लागि काम गर्ने बताए ।

सर्लाही–४ मा काग्रेसबाट सो पार्टीका सभापति गगन थापाले उम्मेदवारी दिएका छन् । प्रतिस्पर्धामा राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा।अमरेसकुमार सिंह रहेका छन् ।

  • २९ माघ २०८२, बिहीबार १२:४४ प्रकाशित