काठमाडौं ।
नेपाली कम्युनिष्ट पार्टी नेकपाले फागुन २१ को निर्वाचनमा नेकपा एमालेसँग चुनावी तालमेल नहुने स्पष्ट पारेको छ । बिहीबार केन्द्रीय कार्यालयमा बसेको निर्वाचन परिचालन समितिको जुम बैठकले एमालेसँग चुनावी तालमेल नहुने स्पष्ट पारेको हो ।
बैठकमा संयोजक पुष्पकमल दाहाल प्रचण्डले क्षेत्रगत वा कुनै पनि खालको चुनावी तालमेल गर्ने विषयमा एमालेका अध्यक्ष केपी ओलीसँग छलफल नभएको प्रस्ट पारेका थिए । पछिल्लो समय देशभर नेकपाको पक्षमा चुनावी माहोल राम्रो बन्दै गएकाले निष्पक्ष र धाँधलीरहित चुनाव भएमा नेकपा एक नम्बरको पार्टी बन्ने दाबीसहितको ब्रिफिङ प्रचण्डले गरेका हुन् ।
‘देशभर हाम्रो पार्टीको पक्षमा चुनावी माहोल राम्रो बन्दै गएको छ । सबै जनाले अझ मेहनत गरेको खण्डमा एक नम्बरको पार्टी बन्छ । अहिले एमाले वा कांग्रेस कुनै पार्टीसँग चुनावी तालमेलबारे कुराकानी भएको छैन’, प्रचण्डको भनाइ उदृद्ध गर्दै नेता राजेन्द्र श्रेष्ठले भने ।
श्रेष्ठका अनुसार एकहप्ता अगाडि कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले तीन पार्टी मिलेर जाने प्रस्ताव गरेको तर आफूले अस्वीकार गरेको प्रचण्डले जानकारी गराएका थिए । पहिला देउवाले मिलेर जाउँभन्दा ओलीले आफ्नो पार्टीलाई होच्याएर ओलीले कांग्रेस र एमालेबिच मात्र चुनावी तालमेलको प्रस्ताव ओलीले गरेको श्रेष्ठले आरोप लगाए । अहिले स्थिति प्रतिकुल देखिएपछि एमालेले सहकार्यको प्रस्ताव गरेको उनको जिकिर छ ।
‘एकहप्ता अगाडि शेरबहादुर देउवाले कांग्रेस, एमाले र नेकपा मिलेर जाऊँ भन्ने प्रस्ताव गर्नुभएको थियो । संयोजकले स्थिति धेरै अगाडि बढी सकेकाले चुनावी तालमेल गर्न नसकिने बताउनुभयो’, श्रेष्ठले रातोपाटीसँग भने, ‘पहिलो हाम्रो पार्टी बन्ने क्रममै थियो । तीन पार्टी मिलेर जाने देउवाको प्रस्ताव केपी ओलीले ठाडै अस्वीकार गरे । हाम्रो पार्टीलाई मिनिमाइज गर्ने काम भयो । अहिले कांग्रेसभित्रै अन्तरघातको खतरा छ । जेनजी विद्रोहपछि एमाले निकै अलोकप्रिय भएको छ । रास्वपा बाहिर जति चर्चा भएको छ, वास्तविक धरातल त्यस्तो देखिँदैन । सबै हिसाबले हामी पहिलो र रास्वपा दोस्रो हुने स्थिति छ ।’
बैठकमा सहसंयोजक माधव कुमार नेपालले एमालेसँग कुनै हालतमा सहकार्य नहुने बताएका थिए ।















