काठमाडौं ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्ने दाबी गर्दै फागुनको पहिलो हप्ता चुनावी घोषणापत्र सार्वजनिक गर्ने बताएका छन्।
शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले एमालेले निर्वाचनको तयारीलाई तीव्रता दिएको र यसपटक ३० देखि ३४ प्रतिशतसम्म लोकप्रिय मत प्राप्त गर्ने आकलन गरिएको जानकारी दिए।
महासचिव पोखरेलले यो निर्वाचनलाई मुलुकको दिशा परिवर्तन गर्ने ‘जनमत संग्रह’ का रूपमा व्याख्या गरे। निर्वाचन आयोगको कार्यतालिकाका कारण अहिले पार्टीले आन्तरिक भेटघाट र संगठन सुदृढीकरणमा ध्यान दिएको उल्लेख गर्दै उनले घोषणापत्र जारी भएपछि उम्मेदवारहरू पूर्ण रूपमा जनताका बीचमा जाने स्पष्ट पारे। उनले सामाजिक सञ्जालमा आधारित ‘पपुलिजम’लोकतन्त्रका लागि चुनौती भएको टिप्पणी गर्दै निर्वाचनलाई अनुहारको सट्टा नीति र एजेण्डाको बहस बनाउनुपर्नेमा जोड दिए।
शहरी क्षेत्रको चुनावी राजनीतिको विश्लेषण गर्दै पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रभाव काठमाडौँ जस्ता ठूला सहरहरूमा घट्दै गएको दाबी गरे। ग्रामीण क्षेत्रमा रास्वपाको प्रभाव केही बढे पनि त्यो जित्ने तहसम्म नपुगेको र मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसबीच नै हुने उनको विश्लेषण छ। उनले नेपाली कांग्रेसलाई प्रचारमा नदेखिने तर तल्लो तहमा बलियो आधार भएको ‘साइलेन्ट’ शक्तिका रूपमा चित्रण गर्दै उसलाई कमजोर ठान्नु गल्ती हुने बताए।
आफ्नो उम्मेदवारी रहने दाङको सन्दर्भमा बोल्दै पोखरेलले विगतमा झिनो मतान्तरले हारे पनि यसपटक जनताले राष्ट्रिय राजनीतिको नेतृत्वका लागि आफूलाई जिताउने विश्वास व्यक्त गरे। दाङको फोरलेन सडक निर्माणमा नेपाल सरकारकै बजेट विनियोजन गराएर आफूले निर्णायक पहल गरेको दाबी गर्दै उनले यसलाई जिल्लाको ुगेम चेन्जरु आयोजनाका रूपमा प्रस्तुत गरे। एमाले नीतिगत बहस, सामाजिक एकता र पारिवारिक मूल्यको संरक्षण जस्ता मुद्दा लिएर चुनावी मैदानमा उत्रिने उनको भनाइ छ।















