काठमाडौं ।
निर्वाचन सुरक्षामा केन्द्रित भएर काम गर्न नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले निर्देशन दिएका छन् ।
प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा कार्कीले आसन्न निर्वाचनको परिवेशमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता, समसामयिक विषयवस्तु लगायत प्रहरी गतिविधि र कामकाज सम्बन्धमा निर्देशन दिएका हुन् ।
कार्कीले आसन्न निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन आवश्यक सुरक्षा रणनीतिहरू अवलम्बन गरी कार्यान्वयन गर्न तथा आ–आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति स्थानीय तह एवम् सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी व्यावसायिक, उत्तरदायी एवम् जवाफदेही प्रहरी सेवा प्रवाह गर्नुपर्ने बताए ।
समाजमा देखा परेको सुरक्षा चुनौतिहरूको सामना गर्न आवश्यक सुरक्षा रणनीति बनाइ प्रभावकारी प्रहरी परिचालन गर्न उनले निर्देशन दिए ।
अपराधविरुद्ध निर्मम भई सबै प्रहरी कर्मचारीहरूले आआफ्नो जिम्मेवारी बहन गर्न निर्देशन दिए । पारदर्शी एवम् बस्तुनिष्ठ अपराध अनुसन्धान, सीमा नाकामा हुने तस्करी नियन्त्रण, हातहतियार बरामद, फरार प्रतिवादी पक्राउलाई समेत प्राथमिकतामा राखी थप सक्रिय भई कार्यसम्पादन गर्न उनले निर्देशन दिए ।
भीड नियन्त्रणमा सिलसिलेवार बल प्रयोगको सिद्धान्तलाई अंगिकार गरी कार्य गर्नुपर्ने बताउँदै सवारी दुर्घटना न्यूनीकरणमा समेत थप क्रियाशील भई कार्य गर्नुपर्नेमा जो्ड दिए ।
कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्वेदीले समेत समसामयिक विषयमा निर्देशन दिए ।















