हुण्डी कारोबार नगर्न नेपाली राजदूतावासको आग्रह

केन्द्रभाग मिडिया

क्यानवेरा ।

अष्ट्रेलिया, न्यूजिल्याण्डलगायत प्यासिफिक क्षेत्रमा रहेका नेपालीलाई अनौपचारिक माध्यमबाट गरिने विप्रेषण कारोबार ९हुण्डी० नगर्न नेपाली राजदूतावास क्यानवेराले आग्रह गरेको छ। राजदूतावासले हुण्डी कारोबार असुरक्षित, गैरकानूनी तथा राष्ट्रहितविपरीत हुने स्पष्ट गरेको छ।

राजदूतावासद्वारा सोमबार जारी सूचनामा सम्पत्ति शुद्धिकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणका लागि अनौपचारिक च्यानल वा माध्यम प्रयोग गरी हुने विप्रेषण कारोबार रोक्नु नेपाल सरकारको अन्तर्राष्ट्रिय दायित्व रहेको उल्लेख गरिएको छ। सोहीअनुसार विदेशमा रही अनौपचारिक माध्यमबाट हुण्डी कारोबारमा संलग्न व्यक्तिहरूको विवरण संकलन गरी आवश्यक कारबाहीका लागि एकीकृत अभिलेखीकरण गर्ने काम सम्बन्धित निकायले गरिरहेको जनाइएको छ।

सूचनामा अष्ट्रेलिया, न्यूजिल्याण्ड तथा प्यासिफिक क्षेत्रमा रहेका नेपाली व्यक्ति वा संस्थाले नेपालमा रकम पठाउँदा वा नेपालबाट रकम ल्याउँदा अनिवार्य रूपमा बैंकिङ च्यानलको मात्र प्रयोग गर्न अनुरोध गरिएको छ। साथै, कुनै व्यक्ति वा संस्थाले अनौपचारिक च्यानलमार्फत हुण्डी कारोबार गरेको जानकारी भए त्यस्ता व्यक्ति वा संस्थाको विवरण राजदूतावासको इमेल ठेगानामा पठाउन आग्रह गरिएको छ।

हुण्डी कारोबारसम्बन्धी सूचना उपलब्ध गराउने व्यक्तिको विवरण गोप्य राखिने राजदूतावासले जनाएको छ।

  • ७ पुष २०८२, सोमबार ११:१४ प्रकाशित