चितवन राइनोजले लुम्बिनी लायन्सलाई दियो १४३ रनको लक्ष्य

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार साँझ जारी खेलमा चितवन राइनोजले लुम्बिनी लायन्सलाई १४३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर लुम्बिनीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको चितवनले ७ ओभर क्षतिमा १४२ रन बनाएको हो।

चितवनका लागि रवी बोपाराले अर्धसतकसहित सर्वाधिक रनको योगदान दिए । इंग्लिस ब्याटिङ अलराउन्डर बोपाराले अन्तिम ‌ओभरमा गुल्बादिन नइबको बलमा क्याच हुनुअघि ६६ रन बनाए । उनले ५५ बलमा ४ चौका र ३ छक्का प्रहार गरे ।

त्यसअघि चितवनका ओपनिङ ब्याटर डविन मलान शून्यमा आउट भए । उनी इनिङग्सको दोस्रो बलमै लुम्बिनीका नामिबियन तीव्र गतिका बलर रुबेन ट्रम्पलम्यानबाट बोल्ड भएका भए ।

अर्का ओपनर दीपक बोहराले १० रन मात्र बनाउन सके । देव खनाल १९ बलमा १४ रन र कुशल मल्ल १८ बलमा २१ रन बनाएर पेभिलियन फर्के । सइफ जइबले ७ बलमा २ चौका र १ छक्काको मद्दतमा १५ रन बनाए । लयमा देखिएका लुम्बिनीका ट्रम्पलम्यानले कुशल र सइफलाई पनि क्याच गराएका थिए ।

अर्जुन साउदले नटआउट ८ रन जोड्दा अन्तिम बलमा आउट भएका सोहेल तन्विरले ५ रन बनाउन सके ।

बलिङमा लुम्बिनीका ट्रम्पलम्यानले ३ विकेट लिए। उनले ४ ओभरमा २३ रन दिए। अभिषेस गौतम र गुल्बादिन नइबले २-२ विकेट हात पारे।

#एनपीएल

  • ४ मंसिर २०८२, बिहीबार १७:५९ प्रकाशित