काठमाडौं ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा नेपाल क्यानडासँग २४ रनले पराजित भएको छ । क्यानडाले दिएको २ सय ५७ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभरमा सबै विकेट गुमाउँदै २३२ रनमा समेटियो । नेपालका लागि अर्जुन कुमालले सर्वाधिक ८७ रनको योगदान गरे । ११२ बलको सामना गरेका उनले ४ चौका प्रहार गरे ।
त्यसैगरी, नेपालका दीपेन्द्रसिंह ऐरीले २७, डा. ईसान पाण्डे र गुल्शन झाले समान २१, आसिफ शेखले २० र रोहित पौडेलले १८ रन बनाए ।
यसअघि ओमनको अल अमेरात मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा सबै विकेट गुमाउँदै २ सय ५६ रन बनायो । क्यानडाका लागि ओपनिङ ब्याटर युवराज सम्राले शतक प्रहार गरे । सम्राले ११७ बलमा १०५ रन बनाए । यस क्रममा उनले ११ चौका र ४ छक्का प्रहार गरे ।
आरोन जोनसनले ३६, हर्ष थाकरले ३४ र हम्जा तारिकले ३० रन बनाए । नेपालका ललीत राजवंशीले ४ विकेट लिए भने सन्दीप लामिछानेले ३ तथा दीपेन्द्रसिंह ऐरीले २ र रोहित पौडेलले १ विकेट हात पारे ।













