पोखरामा मोटरसाइकल चोरी गरेको आरोपमा दुई जना पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।
कास्की प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१६ सीतापाइलाबाट हराएको मोटरसाइकलसहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार असोज ३० गते राति करिब १० बजे सीतापाइलास्थित क्षेत्रबाट ग १९ प १०९१ नम्बरको मोटरसाइकल हराएको सूचना प्राप्त भएको थियो। सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खोजतलास सुरु गरिएको थियो।
खोजतलासका क्रममा प्रहरी चौकी छोरेपाटनबाट खटिएको प्रहरी टोलीले राति करिब ११ बजे पोखरा महानगरपालिका–१७ सिमलटुडाबाट उक्त मोटरसाइकल फेला पारेको हो ।

प्रहरीले मोटरसाइकल चलाएर ल्याउँदै गरेका पोखरा महानगरपालिका–७ मासबार निवासी ३१ वर्षीय सागर गुरुङ र मोटरसाइकलको पछाडि सवार लमजुङको बेँसीसहर नगरपालिका–७ मिलनचोक स्थायी घर भई हाल पोखरा महानगरपालिका–९ पृथ्वीचोक बस्ने २५ वर्षीय किरण ठकुरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

हराएको सूचना प्राप्त भएको करिब एक घण्टामै प्रहरीले मोटरसाइकल फेला पार्नुका साथै त्यसमा सवार दुवै जनालाई नियन्त्रणमा लिन सफल भएको हो । पक्राउ परेका दुवै जनामाथि मोटरसाइकल चोरीसम्बन्धी कसुरमा थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

  • १ कार्तिक २०८३, शनिबार २०:०९ प्रकाशित