काठमाडौं ।
नेपाल प्रीमियर लिग (एनपिएल) सिजन-२ को दोस्रो दिनको पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको छ । कर्णालीले दिएको १६७ रनको लक्ष्य पछ्याएको चितवनले १९ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।
चितवनको जितमा रवि बोपराले अर्धशतक प्रहार गरे। रविले ३५ बलमा ५२ रन बनाउदै चितवनलाई जितको बाटो दोहोर्याए । दीपक बोहराले ४२, सैफ जैब ३८ र कुशल मल्लले २० रनको योगदान दिए । बलिङमा कर्णालीका सोमपाल कामीले २, युनिस सिंह ठकुरी, मार्क वाट र युवराज खत्रीले एकएक विकेट लिए ।
त्यसअघि टीयु क्रीकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६६ रन बनाएको थियो । कर्णालीका ओपनर प्रियांक पन्चालले सर्वाधिक ९० रन बनाएका थिए ।
४८ बलमा प्रियांकले ७ चौका र ६ छक्का प्रहार गरे। म्याक्स ओ’डाउडले २० र मार्क वाट १६ रनमा आउट भए । पवन सरार्फ २७ र नजिबुल्लाह जद्रान ४ रनमा अविजित रहे । बलिङमा चितवनका शोहिल तन्विर, रवि बोपारा र सैफ जैबले एकएक विकेट लिए ।















