विगतका सरकारसंग निराश यातायात व्यवसायी कार्की सरकारसंग आशावादी !

गोविन्द सुवेदी

पोखरा ।
यातायात व्यवसायीहरु सुशीला कार्की नेतृत्वको वर्तमान सरकारसंग आशावादी देखिएका छन् । यातायात क्षेत्रको सिन्डिकेट (व्यवसायीले भन्ने गरेको आलोपालो प्राणाली) तोडेको घोषणा गरेसंगै विगतका सरकारहरुसंग कहिले संघर्ष त कहिले सम्झौता गर्दै अगाडि बढेका यातायात व्यवसायी जेनजी आन्दोलनले स्थापित गरेको सुशीला कार्की नेतृत्वको वर्तमान सरकारसंग भने आशावादी देखिएका हुन् ।

सात वर्ष अगाडि तत्कालिन केपी ओली नेतृत्वको सरकारले देशभर रहेका विभिन्न समितिका नाममा रहेका जायजेथा सरकारको नाममा ल्याउने निर्णय गरेको थियो । त्यो निर्णयलाई २० भदौ २०८० मा सर्वोच्च अदालतको अदेशले उल्ट्याइदियो । सर्वोच्च अदालतले नै सरकारको निर्णय उल्ट्याइदिएपछि आदेश कार्यान्वयनमा सरकारले चासो नदेखाएको भन्दै यातायात व्यवसायी निराश थिए ।

अहिले सर्वोच्च अदालतकै पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नै देशको प्रधानमन्त्री र वरिष्ठ कानुन व्यवसायी ओमप्रकाश अर्याल देशको गृहमन्त्री छन् । यस्तो बेला स्वभाविक रुपमा सरकारप्रति आफूहरुको भरोसा बढेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौलाले बताए । ‘अहिले सर्वोच्च अदालतको पूर्वप्रधानन्यायाधीश सुशीला कार्की देशको प्रधानमन्त्री हुनुहुन्छ । वरिष्ठ कानून व्यवसायी ओमप्रकाश अर्याल गृहमन्त्री हुनुहुन्छ । उहाँहरुले सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्न सक्नुहुने छैन । आदेश कार्यान्वयनमा लैजानुहुन्छ भन्ने नै मान्यताका साथ उहाँहरुसंग भेटघाट गर्ने र हाम्रो (समितिहरुको नामको) सम्पत्ति फुक्का गर्ने लगायतका कार्य गराउन लागि परेका छौं’ उनले भने ।

सिटौलासहित नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृतव नै यतिबेला गण्डकीमा विभिन्न यातायात प्रालिका साधारणसभा र अधिवेशनमा सहभागी छ । साधारणसभा र अधिवेशनका उद्घाटन सत्रमा सर्वोच्चले खारेज गरेको सरकारको निर्णय कार्यान्वयनमा जानेकुरा के हुन्छ भन्दै नेतृत्व माथि प्रश्न उठ्ने गरेका छन् । यसैको जिज्ञासा मेटाउने क्रममा अध्यक्ष विजयबहादुर स्वाँरले समेत आफूहरुको वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीसंग भरोसा रहेको बताउने गरेका छन् । बिहीबार पोखरेली ट्याक्सी सेवा प्रालिको सातौं साधारणसभा उद्घाटन सत्रलाई सम्बाधन गर्ने क्रममा उनले भने,‘हामी पनि विभिन्न दलमा आस्था राख्छौं । तर के गर्ने जुन सरकार आएपनि हामीले हाम्रा माग राख्दा सुनुवाई भएन । अहिले आफू नै पहिले प्रधानन्याधिश रहेको संस्थाले गरेको फैसला कसो कार्यान्वयन नहोला भन्ने आशामा छौं,’ उनले भने, ‘नभए हामी सर्वोच्चको मानहानी मुद्दामा पनि जानुपर्ने हुन सक्छ ।’

  • आफूहरुको समस्या नबुझेको गुनासो

यातायात व्यवसायीले आफूहरुको समस्या पत्रकारले पनि नबुझेको भन्दै दुखेसो पोखे । महासंघका अर्का वरिष्ठ उपाध्यक्ष ऐन कुमार साईले दलका नेताहरुले ६/६ महिना ३/३ महिना यो प्रधानमन्त्री र त्यो प्रधानमन्त्री भनेर देश लुट्न हुने, तर यातायात व्यवसायीले यातायात क्षेत्रको सम्पूर्ण व्यवस्थापन गर्दा सिण्डिकेट भनेर पत्रकारले हेडलाईन बनाउने भन्दै आक्रोस पोखे । ‘आलोपालो पोखराका २५ सय ट्याक्सी एकैपटक सडकमा गुडाइ दिए के हुन्छ ? पृथ्वीका सबै बस एकैपटक सडकमा निकाले के हुन्छ ?’ उनले भने, ‘हामीले आलोपालो गरेर व्यवस्थापन गरेका हौं ।’

महासंघका ट्याक्सी तर्फका वर्गिय संयोजक प्रकाशमणि तिवारीले ‘ट्याक्सीले यात्रु लुटे, यातायात व्यवसायीको मनपरी…’ जस्ता समाचार आउने तर यातायात व्यवसायीलाई सरकारले गर्दा यस्तो अप्ठ्यारो पर्यो भनेर कहिल्यै समाचार नआउने गरेको टिप्पणी गरे ।

कार्यक्रमा पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष सोभाकान्त पौडेलले सबै व्यवसायी एकतावद्ध भए सबै समस्याको मिलेर समाधान गर्न सकिने बताए । उनले पोखरामा रहेका विभिन्न ट्याक्सी सेवा प्रालिलाई एउटै बनाउँदा आफू पद छाड्न तयार रहेको भन्दै त्यस सम्बन्धि निर्णय गर्न लागिएको जानकारी दिए ।

कार्यक्रममा महासंघका केन्द्रीय सचिव भानुभक्त बराल र महासंघ गण्डकीका संयोजक केदार पौडेल लगायतले सो अबसरमा बोलेका थिए ।

  • २७ कार्तिक २०८२, बिहीबार २०:४४ प्रकाशित