पोखरा ।
पृथ्वी राजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोक नजिक (चाइनापुल) सेती नदी माथि निर्माणाधिन पुलको निर्माण सम्पन्न हुने म्याद सकिँदा जम्मा ५२.३५ प्रतिशत काम मात्र सम्पन्न भएको छ । २६ साउन २०७९ मा निर्माण सुरु भई त्यसको ३६ महिना अर्थात २५ कात्तिक २०८२ मा निर्माण सम्पन्न हुनुपर्नेमा भौतिक प्रगति ५२.३५ प्रतिशत मात्र भएको मुग्लिन–पोखरा सडक आयोजना (पश्चिम खण्ड) कार्यालयका इन्जिनियर सहनशिला कायास्थले जानकारी दिइन् । अझैपनि माथिल्लो पुलको दायाँ तर्फको साइड क्लियर गर्न नसकिएको उनले बताइन् । निर्माण आयोजनाको तर्फबाट भरपुर प्रयास भएपनि निकास निस्कन नसक्दा पुल निर्माणको कार्य सन्तोषजनक हुन नसकेको उनले स्विकार गरिन् ।
निर्माण कम्पनी रसुवा कन्सट्रक्सनका प्रतिनिधि सुदर्शन देवकोटाले भने पुल निर्माणको काम ६० प्रतिशत भन्दा धेरै भएको दाबी गरेका छन् । उनका अनुसार पाइल फाउण्डेसनको निर्माणको सबै काम सकिएको छ । त्यसैगरी पाइल क्याप निर्माण, टावर निर्माण, डिजाइनको सुपर स्टक्चर निर्माण सुरु भएको छ । चीनबाट केबल (लट्ठा) ल्याउन एलसी खोलेर प्रक्रिया अगाडि बढेको छ । चालु रहेको चाइना पुलको माथिल्लो भाग अर्थात उत्तर तर्फको पुल निर्माणमा भने जटिलता देखिएको छ । पुलको पूर्वतर्फको कारवास रहेको, मगर समाजको भवन र अर्को एक गरेर तीन वटा घरको मुआब्जा निर्धारण भएको भएपनि त्यसमा सरोकारवाला राजी नहुँदा समस्या बल्झिएको हो ।
- आठ महिना समय थप
समयमा पुल निर्माणको काम सम्पन्न नभएपछि ८ महिनाका लागि समय थप भएको छ र थपिएको मिति अनुसार अब पुल निर्माण सम्पन्न २१ बैशाख २०८३ गर्नुपर्नेछ । तर, थपिएको समयमा समेत पुल निर्माणको काम सम्पन्न नहुने निस्चित जस्तै देखिएको छ । निर्माण कम्पनीका प्रतिनिधि देवकोटाले थप भएको समयमा हालको चाइना पुलको दक्षिण तर्फको पुलको मात्र निर्माण सम्पन्न हुने देखिएको जानकारी दिए । ‘अहिलेको अवस्थामा हामीले तल्लो (चाइना पुलको दक्षिण तर्फको) पुल मात्र निर्माण गर्न सक्छौं । माथिल्लो पुल (उत्तर तर्फको) पुल निर्माण हुन सम्भव नै देखिन्न ।’
पुल निर्माणको काम निर्माण कम्पनीको तर्फबाट नभई निर्माण आयोजना, एडीवी, नेपाल सरकार र स्थानीय सरकारकै कारण रहेको निर्माण कम्पनीका प्रतिनिधि देवकोटा बताउँछन् । उनले आफूहरुलाई निर्माणको समय लम्ब्याएर घाटा बेहोर्ने रहर नभएको टिप्पणी गरे । ‘हामी समयमै निर्माण सम्पन्न गर्न चाहन्छौं । तल तर्फ काम सुरु गर्नपनि सुरुमा साइड क्लियर थिएन । समय लाग्यो । माथि पट्टी अझैपनि मुअब्जाको काम नै टुंगिएको छैन । उहाँहरुले छिटै विवाद टुंग्याए हामी अझैपनि समयमा काम सक्न सामथ्र्य राख्छौं ।’
उनले अझैपनि पुल निर्माणकर्ता कम्पनी आफूहरुले बनाउनुपर्ने बाटो पृथ्वीचोकसम्मको विद्युत पोल हटाउने काम समेत नभएको जानकारी दिए । एडीबी, सरोकारवाला
- समयमै सम्पन्न गर्न पहल भइरहेको आयोजनाको दाबी
मुग्लिन–पोखरा सडक आयोजना (पश्चिम खण्ड) कार्यालयका इन्जिनियर सहनशिला कायस्थ विवाद समयमै समाधान गरेर तोकिएकै समयमा पुल निर्माण गर्न आयोजना लागि परेको छ । त्यसैको समाधानका लागि आयोजना प्रमुख कृष्णबहादुर कुँवर लागि परेका उनले निरन्तर एडीबी, पोखरा महानगरपालिका र जिल्ला प्रशासन कार्यालयमा सहकार्य गरिरहेको उनले बताइन् । ‘आयोजना समयमै सम्पन्न गर्नका लागि देखिएका समस्या समाधान गर्न कार्यालय लागि परेको छ । अहिलेपनि सर (डीजी) काठमाडौंमा यसकैको कामका लागि जानुभएको हो’ उनले भनिन् ।
- कस्तो बन्छ पुल ?
पोखराको सेती नदीमाथि अपस्ट्रिम र डाउनस्ट्रिम १९० मिटरका दुईवटा पक्की पुल बन्ने छन् । देख्दा नेपालको कर्णाली स्थित चिसापानीको जस्तै जस्तै देखिने तर नेपालमा बनेका हालसम्मका पुलमध्ये निकै फरक प्रकृतिको पुल निर्माण हुने कम्पनीका प्रतिनिधि देवकोटाले बताए । उनका अनुसार हाल निर्माणाधिन उक्त पुलको बीचको स्पाम १४० मिटर, फुटपाथको क्षेत्र २५-२५ मिटरको स्पाम क्षेत्रफल रहने छ ।
गाडी गुड्ने भाग साढे सात मिटर फुटपाथको रुपमा भने दुवै पुलको ३-३ मिटरको क्षेत्र रहने छ । साढे १० मिटर चौडा पक्की पुल निर्माण हुने भए पनि केही भाग टावरसहित गर्दा १३ मिटरको चौडा उक्त पुल निर्माण देवकोटाले बताए ।
दुईवटै पक्की पुल टावरसहितको निर्माण हुनेछ भने हालको चाइना पुल र नवनिर्मित पुलको स्पेस करिब ४-४ मिटर हुनेछ । एकै ठाउँमा तीनवटा पुल हुने हुँदा अब पृथ्वी राजमार्ग र पोखरा रंगशालामा हुने ठूला खेलकुद गतिविधि र अन्य कार्यक्रमले गर्दा चाइना पुलमा हुने जाम हट्ने विश्वास गरिएको छ । उक्त पुल पोखराका लागि नौलो र सेल्फी ब्रिजको रूपमा निर्माण हुने कम्पनीले जनाएको छ ।
- एक अर्व ७ करोड २४ लाख २४ हजार रुपैयाँ लागत
सेती माथीको पुल निर्माणका लागि रसुवा कन्स्ट्रक्सन प्रालिले एक अर्ब ७ करोड, २४ लाख २६ हजार रुपैयाँमा जिम्मा लिएको हो । जस मध्ये ५१.६३ प्रतिशत रकम भुक्तानी निर्माण कम्पनीले पाइसकेको आयोजना कार्यालयले जनाएको छ । ठेक्काको रकम मध्ये ५१. ६३ प्रतिशत अर्थात ५७ करोड ५७ लाख ६ हजार ८१५ रुपैयाँ भुक्तानी भइसकेको आयोजना कार्यालयका इन्जिनियर कायस्थले जानकारी दिइन् ।















