त्रिभुवन विमानस्थलको एयरफिल्ड लाइटिङ सिस्टममा प्राविधिक समस्या

उडान र अवतरण बन्द, कोरियन एयरको जहाज दिल्ली डाइभर्ट गरियो

केन्द्रभाग मिडिया

काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयरफिल्ड लाइटिङ सिस्टममा प्राविधिक समस्या आउँदा उडान र अवतरण बन्द भएको छ । आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ उडान र अवतरण बन्द गरिएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए ।

उनका अनुसार विमानस्थलमा साँझ साढे ५ बजेदेखि उडान अवतरण रोकिएको छ । त्यसयता प्राविधक टोलीले समस्या समाधानको प्रयास गरिरहेको उनले बताए । विमानस्थलमा उडान अवतरण रोकिएपछि त्रिभुवन विमानस्थलमा अवतरण हुन लागेका आन्तरिक र अन्तर्राष्ट्रिय गरी तीनवटा जहाज डाइभर्ट गरिएका छन् ।

बुद्ध एयरको जनकपुरबाट आएको जहाज जनपुर नै डाइभर्ट भएको छ । त्यस्तै बुद्ध एयरकै सुर्खेतबाट आएको जहाज पोखरा डाइभर्ट गरिएको छ।

कोरियन एयरको जहाज भने दिल्ली डाइभर्ट गरिएको प्रवक्ता शेर्पाले जानकारी दिए । ‘तत्काल खुलिहाल्ने जस्तो अवस्था छैन । छिटो समस्या समाधान गर्न प्रयत्नरत छौं,’ उनले भने ।

 

  • २२ कार्तिक २०८२, शनिबार १९:१७ प्रकाशित