काठमाडौं ।
सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफ्नै छपाइ मेसिनबाट छाप्न सुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले आजदेखि नयाँ लाइसेन्स छाप्न सुरु गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले काभ्रेको बनेपामा रहेको केन्द्रको प्रिन्टिङ मेसिनमा बटन थिचेर सवारी चालक अनुमतिपत्र छपाइको शुभारम्भ गरेका हुन् ।
मन्त्री खरेलले कानुनी उल्झन र विविध कठिनाइ बाबजुद पनि अत्यावश्यक प्रबन्ध मिलाएर लाइसेन्स छपाइको काम सुरु गरिएको बताए । उनले वर्षौंदेखि थन्किएर अलपत्र परेका धुलाम्मे मेसिन र पार्टपुर्जाको धुलो पन्छाएर छपाइ गरिएको उल्लेख गरे ।
सञ्चारमन्त्री खरेलले भने, ‘वर्षौंदेखि सुरक्षण मुद्रण केन्द्रअन्तर्गतका मेसिनहरू यत्तिकै थन्किएका थिए। मेसिन र पार्टपुर्जा सबै धुलाम्मे भएका थिए। ठाउँ नै खण्डहर जस्तो भएको थियो। धुलो टकटक्याएर छपाइको काम थालेका हौँ।’
उनका अनुसार केन्द्रका मेसिनबाट राष्ट्रिय परिचयपत्र, राहदानी, लालपुर्जा, विभिन्न स्टिकर, हुलाक टिकट लगायत थुप्रै काम गर्न सकिने भए पनि लामो समयसम्म छपाइको काम हुन सकेको थिएन ।
‘अहिले हामीले निकै मेहनत गरेर सरकारी प्रेसबाटै लाइसेन्स छपाइ सुरु गरेका छौँ,’ सञ्चारमन्त्री खरेलले भने, ‘२८ लाख ड्राइभिङ लाइसेन्स छाप्नुपर्ने अवस्था छ । चिट कागजमा मात्रै सीमित रहेको अवस्थामा यहाँबाट छपाइ सुरु गरेर जनतालाई सुशासनको प्रत्याभूति दिने हाम्रो सोच छ ।’
लाइसेन्स, राहदानी, राष्ट्रिय परिचयपत्र लगायतका छपाइ सधैँ विदेशी कम्पनीलाई ठेक्का दिएर रकम बाहिर जाने अवस्था र सुरक्षाको सवाल पनि उठ्ने गरेको थियो। सञ्चारमन्त्री खरेलले पूर्वाधार र स्रोत साधन भएर पनि छपाइको काम गर्न नसकिएको अवस्थामा नीतिगत सुधार गरेर छपाइ सुरु गरिएको बताए ।
उनले नीतिगत समस्या, बेथितिको मुद्दा मामिला, बजेट र जनशक्तिको अभावलाई चिर्दै लाइसेन्स छपाइ सुरु गरिएको उल्लेख गरे। उनले अगाडि थपे, ‘सुरक्षित मुद्रणबारे अदालतमा मुद्दा र अख्तियारमा उजुरी थियो।
केन्द्रको बेथिति, कानुनी अफ्ठ्यारा छिचोल्दै नियमावली ल्याएर स्रोत साधनको सुनिश्चित गरी जनशक्ति व्यवस्थापन गरेर लाइसेन्स छपाइ सुरु गरिएको हो। अब क्रमशः अन्य विभिन्न छपाइ पनि केन्द्रबाटै छाप्छौँ। यसबाट मुलुकको पैसा बाहिर जान रोकिन्छ। राष्ट्रिय सुरक्षाका हिसाबले पनि महत्त्वपूर्ण र राम्रो सुरुवात हो। यसलाई निरन्तरता दिनुपर्छ।’















