काठमाडौं ।
प्रधानमन्त्री सुशीला कार्कीले ह्यात होटलको सेवा बन्द र कर्मचारी प्रवेशलाई निषेध गरिएको भन्ने सूचनाका सम्बन्धमा चासो व्यक्त गरेकी छन् ।
प्रधानमन्त्री कार्कीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले ह्यात रिजेन्सी व्यवस्थापनसँग शनिबार बिहान कुराकानी गरी जानकारी लिएका थिए । त्यस क्रममा अर्थमन्त्री खनालले सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकार तयार रहेको र कत्ति पनि विचलित नभई सेवा सुचारु गर्न आग्रह गरेका छन् ।
‘तपाइँहरु आत्तिन भएन । उच्च मनोबलका साथ आफ्नो सेवा सुचारु गर्नुहोस् । हामी साथमा छौँ । सुरक्षाको व्यवस्था हामी मिलाउँछौँ । कत्ति पनि विचलित नभएर आफ्नो व्यवसायलाई निरन्तरता दिनुहोस्,’ उनले भनेका थिए ।
ह्यात होटलले शुक्रबार सूचना जारी गर्दै जेनजी आन्दोलनपछि होटल सञ्चालन गर्न नसकिएको भन्दै कर्मचारीहरुलाई बिदामा बसाएको थियो ।
होटलले जेनजी आन्दोलनका समयमा होटलमा तोडफोड भएको र त्यसको मर्मत गर्नुपर्ने साथै सुरक्षा सम्वेदनशीलतालाई लिएर होटलमा कर्मचारीलाई बिदा बसाएको जनाएको थियो ।














