काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरणले आज ६ वटा उद्योगको लाइन काटेको छ । डेडिकेटेड ट्रङ्कलाइन प्रयोग गरेबापतको बक्यौता तिर्न पछिल्लो पटक दिएको २१ दिनको समय गएराति सकिएसँगै प्राधिकरणले आज लाइन काटेको हो ।
प्राधिकरणका अनुसार लाइन काटिएकामध्ये जगदम्बा स्टीलले १ अर्ब ६० करोड रुपैयाँ तिर्न बाँकी छ । यस्तै रिलायन्स स्पिनिङ मिल्सको ७५ करोड ३७ लाख, शिवम् सिमेन्टको ७७ करोड ८८ लाख, घोराही सिमेन्टको ५० करोड ८५ लाख, अर्घाखाँची सिमेन्ट इन्डस्ट्रिजको ४४ करोड ८४ लाख र त्रिवेणी स्पिनिङ मिल्सको ३२ करोड १० लाख रुपैयाँ बक्यौता रहेको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिनुभयो ।
उहाँका अनुसार उद्योगीलाई २८ किस्ताको सुविधा दिइएको छ । पहिलो किस्ता तिरेमा जुनसकै समयमा लाइन जोडिनेछ । लामो समयदेखि विद्युत् बक्यौतामा उद्योगी र प्राधिकरणबीच टकराव चल्दै आएको छ ।
उद्योगीहरूले अहिले पनि त्यस्तो बक्यौता नतिर्ने बताएका छन् । पीडित तथा प्रताडित उद्योग समूह ९नेपाल० का नाममा आज विज्ञप्ति निकालेर अवैध शुल्क नतिर्ने बताएका हुन् ।
प्राधिकरणको बिलिङ प्रणाली र प्रमाणमा गम्भीर कमजोरी रहेको दाबी गर्दै उनीहरूले प्राधिकरणले गठन गरेको लाल आयोग कोप्रतिवेदन र टीओडी मिटर डाटा अर्थात् लोडशेडिङ्गको बेला उद्योग सञ्चालन गरेको प्रमाणका आधारमा मात्रै दायित्व निर्धारण गर्नुपर्ने माग रहेको बताएका छन् ।
उद्योगीहरूका अनुसार यो विवादमा संलग्न उद्योगहरूले सामूहिक रूपमा १५ हजारभन्दा बढी नागरिकलाई प्रत्यक्ष रोजगारी दिएका छन् ।














