जेष्ठ नागरिकका लागि हवाइ भाडामा व्यापक छुट

केन्द्रभाग मिडिया

काठमाडौं ।
जेष्ठ नागरिकका लागि हवाइ भाडामा व्यापक छुटको व्यवस्था भएको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको अध्यक्षतामा वायुसेवा सञ्चालक संघका अध्यक्ष तथा नेपालका आन्तरिक वायुसेवा सञ्चालक कम्पनीहरुका प्रतिनिधिहरुबीच आइतबार भएको बैठकमा यस्तो छुट हुने सहमति भएसंगै आज सोमबारदेखि नै यो व्यवस्था लागु हुनेछ ।

बैठकले ८० वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकले हवाइ टिकटमा ८० प्रतिशत छुट प्रदान गर्ने सहमति गरेको हो ।

यस्तै, बैठकमा ७० वर्षभन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिकहरुलाई हवाइ टिकटमा सरकारद्वारा तोकिएको अधिकतम भाडादरमा सम्पूर्ण सेक्टरहरुमा ५० प्रतिशत छुट प्रदान गर्ने सहमति जुटेको छ ।

साथै, ७५ वर्षभन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिकहरुलाई ७० प्रतिशत छुट दिइनेछ भने फरक क्षमता भएका हवाइ यात्रुहरुको सन्दर्भमा समेत उक्तानुसारकै न्यूनतम ५० प्रतिशत छुट सुनिश्चित हुनेगरी व्यवस्था गरिएको प्राधिकरणले जानकारी दिएको छ ।

सहमति भएका विषय आजकै मितिदेखि कार्यान्वयन गर्न प्राधिकरणले वायुसेवा कम्पनीहरुलाई निर्देशन समेत दिएको छ ।

  • ३ कार्तिक २०८२, सोमबार ०९:०४ प्रकाशित