काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उनको मन्त्रिपरिषद्का गृहमन्त्री रमेश लेखकसहित ५ जनालाई विदेश जान रोक लगाइएको छ ।
ओली र लेखकसहित पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा र पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई विदेश जान रोक लगाइएको हो । गत २३ र २४ भदौको आन्दोलनको छानविन गर्न गठित जाँचबुझ आयोगले उनीहरूको विदेश यात्रामा रोक लगाएको आयोगका सदस्य विज्ञानराज शर्माले रातोपाटीलाई जानकारी दिए ।
शर्माका अनुसार उनीहरूले उपत्यकाबाहिर जान पनि आयोगको अनिवार्य अनुमति लिनुपर्नेछ । आयोगको यो निर्णय यस्तो समयमा सार्वजनिक गरिएको छ, जतिखेर एमाले अध्यक्ष ओली पार्टीको सचिवालय बैठकको अध्यक्षता गरिरहेका छन् ।
रमेश लेखक भने हाल आमाको काजक्रियामा छन् । दुवाडीलाई गृह सचिवको जिम्मेवारीबाट हटाएर राष्ट्रिय योजना आयोगमा सरुवा गरिसकिएको छ । हुतराज थापाले अनुसन्धान विभागको प्रमुखबाट अवकाश पाइसकेका छन् । रिजाल प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीबाट हटाइएका छन् ।
यस्तै, जाँचबुझ आयोगको काम प्रभावकारी रूपमा सम्पादन गर्न विज्ञसहितको जनशक्ति आवश्यक देखिएकोले थप जनशक्तिको लागि गृह मन्त्रालयमा लेखी पठाउने निर्णय पनि भएको आयोगले जानकारी दिएको छ ।














