शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने सरकारको तयारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले प्रमुख दलका केही शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने तयारी गरेको छ ।

जेन–जी आन्दोलनको दमनमा संलग्न र कतिपय भ्रष्टाचार एवं सम्पत्ति शुद्धीकरणको अनुसन्धानको दायरामा परेकाहरूमाथि यसप्रकारको ‘एक्सन’ बारे छलफल भएको हो ।

जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत दलका केही शीर्ष नेताहरूको राहदानी रोक्का गर्ने प्रक्रिया अघि बढाएको बताइएको छ ।

जेन–जी आन्दोलन दमनमा संलग्न कार्यकारी नेतृत्व लगायतलाई कानुनी दायरामा ल्याउनुपर्छ भन्ने माग चर्को छ । तत्कालका लागि पासपोर्ट रोक्काकै निर्णय हुने जनाइएको छ ।

स्रोतका अनुसार, पासपोर्ट रोक्काका लागि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकको नाम किटेरै आएको छ ।

पासपोर्ट रोक्का गर्ने वाचलिस्टमा देउवा र पत्नी आरजु राणा देउवाको नामसमेत राख्ने गृहकार्य भएको उच्च अधिकारीहरूले जानकारी दिए । तिनका अनुसार यसबारे ठोस निर्णय भने हुन बाँकी छ ।

ती बाहेक अरूको हकमा सम्बन्धित फौजदारी उजुरी र अनुसन्धानको प्रारम्भिक नतिजा हेर्ने भनिएको छ ।

  • ९ आश्विन २०८२, बिहीबार १७:०४ प्रकाशित