माओवादी केन्द्रीय समिति बैठक

नेतृत्व कसैलाई टिको लगाएर दिने कुरा होइन : प्रचण्ड

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व कसैलाई टिको लगाएर दिने कुरा नभएको बताएका छन्।

पार्टीको केन्द्रीय समितिको सातौँ पूर्ण बैठकलाई बिहीबार सम्बोधन गर्दै उनले आफू जिम्मेवारीबाट पलायन नहुने तर पदलोलुप पनि नभएको सन्देश प्रवाह गरेको एक केन्द्रीय सदस्यले रातोपाटीलाई बताए ।

बैठकको सुरुवातमै प्रचण्डले भने, ‘परिस्थिति निकै नै जटिल छ। सायद यो परिस्थितिको जटिलता र संवेदनशीलतालाई व्यक्त गर्ने हामीले प्रयोग गर्दै आएका शब्द नै अपर्याप्त हुने जस्तो देखिन्छ। त्यति विकराल, त्यति गम्भीर अवस्थामा हामी यो बैठक बस्दैछौँ।’

उनले विगतको जनयुद्ध, ऐतिहासिक जनआन्दोलन र समुदायका आन्दोलनबाट सामन्तवादमाथि विजय हासिल गरे पनि वैदेशिक प्रतिक्रियावाद र दलाल पुँजीवादमाथि भने अझै विजय हासिल नभएको प्रस्ट पारेको ती नेताको भनाइ छ।

जिम्मेवारीबाट नभाग्ने प्रचण्ड

नेतृत्वबारे बहस चलिरहेको सन्दर्भमा उनले आफू पदमा टाँसिरहन नचाहेको तर जिम्मेवारीबाट भाग्ने पक्षमा पनि नरहेको दोहोरो कुरा गरे । ‘आन्दोलनबाट निष्क्रिय हुने भन्ने मेरो सम्भव पनि छैन, मेरो नेचर पनि होइन। तर पदलोलुपता पनि मेरो स्वभाव होइन,उनले भने।

उनले आफूले अध्यक्ष पद आफैंले मागेर पाएको नभई परिस्थितिले जिम्मेवारी काँधमा हालिदिएको दाबी गरे।

  • ९ आश्विन २०८२, बिहीबार १३:२२ प्रकाशित