पूर्वप्रधानमन्त्री डा. भट्टराईले त्यागे नेसपा (नयाँ शक्ति) को अध्यक्ष पद

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले पद पार्टी अध्यक्ष पद त्याग गरेका छन् । बुधबार बसेको केन्द्रीय समिति बैठकमा भट्टराईले अध्यक्ष पद त्याग गरेको घोषणा गरेका हुन् ।

साथै मौजुदा केन्द्रीय समिति भंग गरी उपाध्यक्ष दुर्गा सोवको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाउने निर्णय भएको सो पार्टीका प्रवक्ता कृष्ण शर्माले जानकारी दिए ।

महाधिवेशन कहिले गर्ने भन्ने विषयमा छलफल चलिरहेको उनले बताए । ‘अध्यक्ष भट्टराईले राजीनामा दिनुभएको होइन, पद त्याग गर्नुभएको हो । उपाध्यक्ष दुर्गा सोवको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाउने भनिएको छ । महाधिवेशन कहिले गर्ने भन्ने बारेमा छलफल भइरहेको छ’ उनले भने ।

तत्कालीन नेसपा विभाजनपछि गत माघमा भएको महाधिवेशनबाट भट्टराई अध्यक्षमा निर्वाचित भएका थिए । अघिल्लो महिना २३ र २४ भदौमा जेनजीले विद्रोह गर्दा डा. भट्टराई समेत निशानामा परेका थिए । प्रदर्शनकारीले उनको निजी निवासमा आगजनी गरी ध्वस्त बनाएको थियो । तर भट्टराईले जेनजीले उठाएको मागलाई समर्थन गर्दै आएका छन् ।

  • ८ आश्विन २०८२, बुधबार १९:३६ प्रकाशित