काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र निवर्तमान ऊर्जामन्त्री तथा कांग्रेस नेता दीपक खड्काको घरमा भेटिएको भनिएको जलेका नोटको अनुसन्धान अघि बढेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान अगाडि बढाएको हो ।
जेनजी आन्दोलनको क्रममा गएको २४ भदौमा सभापति देउवा र नेता खड्काको घरमा आगजनी हुँदा ठूलो मात्रामा भण्डारण गरेर राखिएको रकम जलेको भन्दै विभिन्न भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । त्यही आधारमा विभागले अनुसन्धान सुरु गरेको हो ।
आइतबार विभागको टोलीले देउवा र खड्काको जलेको घरमा पुगेर जलेका नोटका केही टुक्रा र खरानी संकलन गरेको छ । देउवा र खड्काको घरमा जलेको अवस्थामा भेटिएको भनिएको नेपाली र विदेशी मुद्राको भिडियो र फोटोको फरेन्सिक जाँच गरेर घटनाको अनुसन्धान अघि बढाइएको अधिकारीहरुले बताएका छन् ।
दुवै घर जलेको तेस्रो दिनपछि मात्रै प्रहरीले उनीहरुको घरमा बाहिरका मानिसलाई प्रवेश रोक लगाएको थियो । घटना भएको १३ दिनपछि मात्रै विभागले अनुसन्धान अघि बढाएको हो ।














