पोखरा ।
देशकै पर्यटकीय राजधानी पोखरामा एउटा पनि अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र छैन । सरकारी स्तरबाट सम्मेलन केन्द्र निर्माणका लागि भिभिन्न ठाउँ हेर्ने काम भएपनि निर्माण प्रक्रिया अगाडि बढ्न सकेन ।
कम्तिमा ठूला कार्यक्रम यहाँबाट नउम्किउन र त्यसको आवश्यकतालाई निजी क्षेत्रबाट नै भएपनि पूरा गर्न सकियोस भनेर खुलेको पोखरा इभेन्ट सेन्टर समेत जेनजी समूहको प्रदर्शनको क्रममा भएका आगजनीको सिकार बन्न पुग्यो । यही २४ भदौमा एक समूहले पोखरामा रहेका सरकारी र निजी लगानीका समेत विभिन्न भौतिक संरचनामा आगो झोस्ने क्रममा पोखरा इभेन्ट सेन्टर पनि आगजनी, तोडफोड र लुटपाटको सिकार बनेको हो ।
पर्यटकीय राजधनी सहरमा एकै पटकमा दुई हजार जना अट्न सक्ने हलको अवश्यकतालाई पूरा गरेको पोखरा इभेन्ट सेन्टरमा भएको आगजनीले पोखरालाई धेरै पछाडि धकेलेको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण बहादुर कार्की बताउँछन् । ‘सबै भौतिक संरचनाको उत्तिकै महत्व छ । तर, पर्यटकीय राजधानी सहर पोखरामा निजी क्षेत्रले भएपनि योगदान दिएको दुई हजार जनासम्म एकै ठाउँमा बसेर कार्यक्रम गर्न मिल्ने हल अर्को छैन । त्यसको क्षतिले पोखरालाई अझै पछाडी धकेल्ने काम भयोे’ उनले भने ।
जेनजी पुस्ताले उठाएको माग समग्र नेपालीको नै माग भएपनि प्रदर्शनको क्रममा सरकारी र निजी क्षेत्रका समेत महत्वपूर्ण भौतिक संरचनामा आगजनी, तोडफोड र लुटपाट हुनु अत्यन्तै दुखद् भएको कार्की बताउँछन् । जेनजीले गरेको आन्दोलनका क्रममा भौतिक संरचनाका हिसावले संघीय राजधानी काठमाडौं पछि सबैभन्दा धेरै भौतिक क्षति पोखरामा भएको उनको विश्लेषण छ ।
यता पोखरा इभेन्ट सेन्टर आगजनी, तोडफोड र लुटपाटका घटनाप्रति सञ्चालक समूहले गम्भीर ध्यानाकर्षण जनाएको छ । प्रेस विज्ञप्तिमार्फत इभेन्ट सेन्टरले करोडौं रुपैयाँ बराबरको भौतिक र आर्थिक क्षति पु¥याएको भन्दै उनीहरूले केबल भौतिक सम्पत्ति नभई पोखराको साझा सम्पदा’ भएको बताएका छन् ।
सञ्चालकहरुले राजनीतिक व्यक्तिगत स्वार्थप्रेरित आपराधिक गिरोहको घुसपैठका कारण इभेन्ट सेन्टर ध्वस्त भएको उल्लेख गरेका छन् । ‘हामीमध्य धेरै साथीहरू विदेशिने प्रवृत्तिबीच स्वदेशमै केही गर्नुपर्छ भन्ने साहसका साथ करोडौं कर्जा लिई लगानी गरेका थियौं । तर पछिल्ला घटनाक्रमले नेपालमै बसेर केही गर्न खोज्नु गल्ती भयो कि भन्ने सोच्न बाध्य बनाएको छ, प्रेस विज्ञप्तिमा भनिएको छ ।
घटनामा संलग्न समूहलाई वास्तविक जेन–जी आन्दोलनकारी नभई ‘आर्थिक, राजनीतिक र व्यक्तिगत स्वार्थका लागि सक्रिय आपराधिक गिरोह’ भएको ठहर गर्दै सञ्चालकहरूले निष्पक्ष छानबिन गरी कानुनअनुसार कारबाही गर्न माग गरेका छ । उनीहरूका अनुसार यो संरचनाले पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना, प्रवासी नेपालीको लगानी आकर्षण, अन्तर्राष्ट्रिय सम्मेलन र सांस्कृतिक कार्यक्रममा योगदान गर्दै आएको थियो ।
‘पोखरा इभेन्ट सेन्टरमा भौतिक क्षति पु¥याइएको छ, हाम्रो सपना र उत्साहमा होइन । हाम्रो सम्पत्ति जलेपनि आँट र साहस जलेको छैन । यो केवल केही लगानीकर्ताको सम्पत्ति मात्र होइन, पोखरालीको पनि साझा संरचना थियो,’ विज्ञप्तिमा भनिएको छ ।
के के थियो पोखरा इभेन्ट सेन्टरमा ?

पोखरामा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्रको अवश्यकताको मागलाई सम्बोधन गर्ने उद्देश्यले पोखरामा विभिन्न क्षेत्रमा सफल व्यक्तिहरु शिवराज आचार्य, टिकादेवी अर्याल, राजेन्द्र कुमार बाटाजु, ई. रामचन्द्र पोखरेल र चार्टर एकाउण्टेन्ट लक्ष्मण अधिकारीको संयुक्त लगानीमा पोखरा इभेन्ट सेन्टर खुलेको हो ।
प्रबन्ध निर्देशक शिवराज आचार्यका १५ जनादेखि दुई हजार जना अट्ने साना ठूला गरेर ८ वटा बहुउद्देस्यीय हल इभेन्ट सेन्टरमा थिए । एकैपटक १० हजार जनालाई खानाको व्यवस्थापन गर्न सक्ने क्षमता थियो । ३२ रोपनी क्षेत्रफलमा फैलिएको पोखरा इभेन्ट सेन्टरमा ३०० साना ठूला गरेर चारपांग्रे गाडी पार्किङ गर्ने ठाउँ थियो । इभेन्ट सेन्टरले ३५ जनालाई प्रत्यक्षरुपमा रोजगारी दिएको थियो ।















