आज संविधान दिवस, विविध कार्यक्रम गरेर मनाइँदै

केन्द्रभाग मिडिया

काठमाडौं ।

आज संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ विगतका वर्षमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ।

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम हुँदैछ ।

समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने कार्यक्रम छ । अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन भएका छन् ।

नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो संघर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान ३असोज २०७२ मा घोषणा भएको थियो ।

मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहेनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो।

विसं ३ असोज २०७२ को राति नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तरराष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा.रामवरण यादवले यो संविधानलाई जारी भएको घोषणा गरेका थिए ।

संविधान दिवसको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

  • ३ आश्विन २०८२, शुक्रबार ०८:३७ प्रकाशित