पोखरा ।
दसैं, तिहार तथा छट लगायतका छाडबाडलाई लक्षित गरी पोखरामा सुपथ मूल्य पसल सञ्चालनमा आएका छन् । साल्ट ट्रेडिङ कर्पोरेसन प्रदेश कार्यालय पोखराले आफ्नो पृथ्वीचोक स्थित गोदाममा सूपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन गण्डकीले मंगलबारदेखि सूपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।
साल्ट ट्रेडिङ कर्पोरेसन पोखराका प्रमुख सागर शेरचनका अनुसार गोदाममा सञ्चालित सुपथ मूल्य पसलमा चिनी प्रति केजी ९५ रुपैयाँ प्रति व्यक्ति ६ केजी का दरले किन्न पाइन्छ । उनका अनुसार बजारमा अहिले चिनीको मूल्य प्रतिकेजी ११० रुपैयाँद देखि ११५ रुपैयाँसम्म छ ।
त्यसैगरी नुन प्रतिकेजी २४ रुपैयाँका दरले प्रतिव्यक्ति ६ केजीसम्म, शान्ति तोरीको तेल प्रति लिटर ३५५ रुपैयाँका दरले प्रतिव्यक्ति ५ लिटरसम्म किन्न पाइन्छ । यसको बिक्री मूल्य ३६२ रहेकोमा ७ रुपैयाँ छुट दिइएको हो । सुपथ मूल्य पसलमा ५ केजी मानश्री पिठोको मूल्य ३४५ रुपैयाँमा प्रति व्यक्ति एक प्याकेड, २ केजी आँटाको १४५ रुपैयाँमा र २ केजी मैदा प्रति व्यक्ति १५० रुपैयाँका दर किन्न पाइन्छ ।
सुपथ मूल्य पसलमा चार प्रकारका चामल किन्न पाइने साल्ट ट्रेडिङ कर्पोरेसन गण्डकी प्रदेश कार्यालयले जानकारी दिएको छ । जस अनुसार २५ केजीको सोना चामल १५ सय ४५ रुपैयाँमा, २० कजीको लङग्रेन बास्मती चामल २३ सय २५ रुपैयाँमा, २५ केजीको नातीनातिना लङ्ग्रेन बास्मती चामल २९ सय रुपैयाँमा र २५ केजीको जिरालाई दुई हजार १५ रुपैयाँमा किन्न पाइन्छ ।
अन्यत्र भन्दा सस्तोमा बस्तु तथा सेवा पाइने भएकाले धेरैभन्दा धेरै लाभ लिन प्रमुख शेरचनले आम उपभोक्तालाई आग्रह गरेका छन् । काठमाडौं लगातका देशका केही सहरमा साल्ट ट्रेडिङ कर्पोरेसनका आउटलेट भएकाले त्यहाँ धेरै उपभोग्य बस्तु किन्न पाइने तर, पोखरामा चाडबाडमा मात्र सुपथ मूल्य पसल खुल्ने भएकाले धेरै सामग्री यहाँबाट विक्री गर्न नपाइएको उनले बताए ।















