बारा ।
जेनजी आन्दोलनको मौका छोपेर उपराष्ट्रपति रामसहाय प्रसाद यादवको कलैयास्थित घरमा लुटपाट भएको छ । उपराष्ट्रपति यादवका छोरा शत्रुधन यादवले आफ्नो घर तोडफोड र लुटपाट गर्ने जेनजी नभएर बेग्लै किसिममा लुटेरा रहेको बताए ।
‘घर तोडफोड गरेर लुटेराको समूहले बहिनीको बिहेका लागि बनाएर राखेको गरगहना, नगद रकम सबै लुटेर लगेछन्’ उनले भने, ‘गाउँको खेतबाट ल्याएको धान, गहुँ, मुसुरोलगायतका अन्नसमेत जलाएछन् ।’
उपराष्ट्रपति यादवकी छोरीको बिहे आगामी मंसिर ८ गते हुँदैछ । बिहेकै लागि जुटाएको रकम र किनेका गहना लुटिएको परिवारले जनाएको छ ।घरमा तोडफोड र लुटपाट भएपछि उपराष्ट्रपतिकी पत्नी चम्पादेवी यादव चिन्तितमात्र भइनन्, बिरामी भएर केही दिनदेखि अस्पतालमै रहेको छोरा शत्रुधनले बताए । ‘धेरै वर्ष लगाएर बनाएको घरमा राम्रोसँग बस्न पनि पाइएको थिएन, यसरी तोडफोड हुँदा साह्रै दुःख लागेको छ,’ उनले भने ।
गत मंगलबार जेनजी आन्दोलनमा पूर्वमन्त्रीहरू किसान श्रेष्ठ, ज्वालाकुमारी साह लगायतको घरमा पनि आगजनी र तोडफोड भएको थियो ।स्थानीय प्रशासनले जेनजी आन्दोलनको क्रममा भएका निजी तथा सार्वजनिक सम्पत्तिको क्षति विवरण सङ्कलन गरिरहेको छ ।













