काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले चुनाव सम्पन्न गराउने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गरेका छन् । आगामी २१ फागुनमा प्रतिनिधि सभा चुनाव घोषणा गरेका राष्ट्रपति पौडेलले यस्तो अपिल गरेका हुन् ।
मुलुकमा शान्तिपूर्ण निकास निस्किएको भन्दै उनले यसको सदुपयोग गर्न समेत दलहरुलाई आग्रह गरेका छन् । रक्तपातयुक्त जेनजी आन्दोलनपछि निम्तिएको राजनीतिक शून्यता चिर्न शुक्रबार साँझ पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।
‘देशको अत्यन्त असहज, विषम र भयपूर्ण परिस्थितिमा कठिन प्रयत्नपश्चात् एउटा शान्तिपूर्ण निकास निस्किएको छ । संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ र संघीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको छ’, पौडेलले अपिलमा लेखेका छन्, ‘छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न जनताले अवसर पाएका छन् ।’














