काठमाडौं ।
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् । शीतनिवासमा आयोजति विशेष समारोहमा उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएकी हुन् ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेपालको संविधानको धारा ६१ को उपधारा (४) बमोजिम अन्तरिम सरकारको प्रमुख बनेकी हुन् । संघीय संसद्ले यसअघि संविधानको धारा ७६ बमोजिम मन्त्रिपरिषद् गठन गर्ने गर्थ्यो । तर, यही साता सोमबार र मङ्गलबार भएको जेनजी प्रदर्शनले मुलुकको नियमित राजनीतिक कोर्ष नै फेरिदिएपछि धारा ६१ बाट अन्तरिम सरकार गठन हुन लागेको हो ।
पछिल्लो प्रदर्शन क्रममा उठेको संसद् विघटनको माग सम्बोधन गर्नेगरी राष्ट्रपति कार्यालयमा आजै सहमति भएको थियो ।
जेनजी अभियन्ताहरूले संसद्बाट नभइ राष्ट्रपतिबाटै प्रधानमन्त्री नियुक्ति र संसद् विघटन गर्न राखेको मागमा सहमति भएअनुसार कार्कीलाई प्रधानमन्त्री नियक्ति गरिएको हो ।














