राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानसेनापति सिग्देल

केन्द्रभाग मिडिया

काठमाडौं ।
जेनजी प्रदर्शन चर्किरहेका बेला नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । उनले केही बेरमा राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।

यसअघि सरकारका मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति सिग्देल, गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशक हुतराज थापाले संयुक्त वक्तव्य जारी गरी जेनजी प्रदर्शनकारीलाई संयमित हुन आग्रह गरेका थिए।

त्यसलगत्तै सेनाले आफ्नो एकल वक्तव्य जारी गरी सार्वजनिक सम्पत्ति तोडफोड नगर्न अनुरोध गरेको थियो । उक्त अनुरोधलगत्तै प्रधानसेनापतिको राष्ट्रका नाममा सम्बोधन आउनलागेको हो ।

जेनजी प्रदर्शनमा सोमबार सरकारी दमनपछि धेरै युवाहरुको ज्यान जानुका साथै सयौँ घाइते भएका थिए । त्यसपछि मंगलबार जेनजी प्रदर्शन नेताहरुको निवासलक्षित भएको छ । युवाहरुले उनीहरुको निवासमा आगजनी गरेका छन्। योसँगै महत्त्वपूर्ण प्रशासनिक निकाय सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपतिनिवास शीतलनिवासलगायत सबैतिर आगजनी गरेका छन् ।

केही व्यावसायिक प्रतिष्ठानहरुमा समेत आगजनी गरेका छन् । सोसँगै राष्ट्रपति रामचन्द्र पौडेलले पनि संयम अपनाउन आग्रह गर्दै जेनजीलाई वार्तामा बोलाएका छन् । यसबाहेक काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, डा सन्द्क रुइत, कुलमान घिसिङलगायतले प्रदर्शनकारीलाई संयम रही सार्वजनिक सम्पत्तिमा नोक्सान नगर्न अनुरोध गरेका छन् ।

नेतृत्व संकट गहिरिइरहेको र प्रदर्शन चर्किरहेकाले प्रधानसेनापतिबाट हुनलागेको सम्बोधनलाई अर्थपूर्ण मानिएको छ।

  • २४ भाद्र २०८२, मंगलवार १९:०२ प्रकाशित