पोखरा ।
नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याल र प्रधान सेनापति अशोक राज सिग्देलसहित सुरक्षा निकायका प्रमुखहरुले थप जनधनको क्षति हुन नदिनका लागि आम नागरिक सबैलाई संयमित हुन आग्रह गरेका छन् ।
मंगलबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा स्वीकृत भइसकेको अवस्थामा सबैलाई संयमित हुन उनीहरुले आग्रह गरेका हुन् ।
गृह सचिव गोकर्णमणी दुवाडी, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुवेर खापुङ, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशक हुतराज थापाले संयुक्त रुपमा गरेको अपिलमा ‘हिजोदेखि काठमाडौं लगायत देशका विभिन्न भागमा भएको प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भएको र यसबाट ज्यान गुमाउने व्यक्तिहरूप्रति भावपूर्ण श्रद्धाञ्जली एवम् सम्बद्ध प्ररिवारजनमा गहीरो समवेदना व्यक्त गर्दछौं ।
सम्माननीय प्रधानमन्त्रीज्यूको राजिनामा स्वीकृत समेत भएको हुँदा यस विषम परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आम नागरिक सबैलाई संयमित हुन हार्दिक आग्रह गर्दछौं। यस विषयमा राजनीतिक संवादको माध्यमबाट यथाशक्य छिटो शान्तिपूर्ण समाधान निकाल्न सम्बद्ध सबैमा हार्दिक अपिल गर्दछौं’ उल्लेख गरिएको छ ।















