काठमाडौं ।
विगत तीन दिनदेखि जारी सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आज सक्ने तयारी छ ।
एमाले नेताहरुले दिएको जानकारी अनुसार समसामयिक प्रस्ताव पारित गरेर आजै साँझसम्म महाधिवेशन सम्पन्न हुने छ । तेस्रो दिनको कार्यक्रम आइतबार बिहान नौबजेदेखि सुरु भएको छ ।
महाधिवेशनमा प्रस्तुत दस्ताबेजमाथि शनिबार १० वटा समूहबीको विमर्श सकिएको छ । विमर्शका लागि प्रदेश, उपत्यका र केन्द्रीय संरचनालाई आधार बनाउँदै १० वटा समूह बनाइएको थियो ।
शनिबार दिनभरको छलफलपछि त्यसको निष्कर्ष निकालेर प्रतिवेदन लेखन कार्यसमेत सुरु भएको छ । सहभागी प्रतिनिधिले दिएको सुझावका आधारमा १० वटै समूहले आफ्नो प्रतिवेदन लेखिरहेका छन् ।
आज सबै समूहबाट टोली नेताले प्रतिवेदनहरूमाथि समूहगत छलफलका क्रममा प्रतिनिधिहरूले राखेका सुझाव प्रस्तुत गर्नेछन् ।
त्यपछि समूहगत रूपमा आएका प्रतिवेदनमा समेटिएका सुझाव, जिज्ञासाको अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यसूची छ । तर, कुनै विषयमा सहमति हुन नसकेमा मतदानबाट टुङ्गो लगाउने तयारी एमालेले गरेको छ।
यो विधान महाविधेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलका विधान संशोधन प्रतिवेदन प्रस्तुत गरिएका छन् ।
त्यसैगरि केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा. पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा. विजय सुब्बाले आ–आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गरेका छन्।
विधान महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र आयोजकका ३१५ गरी कुल २ हजार ३ सय ४१ जना सहभागी छन् ।














