प्रधानमन्त्री ओली स्वदेश फिर्ता

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । उत्तरी छिमेकी चीनको पाँच दिने भ्रमण सकेर उनी बुधबार राति काठमाडौँ फर्किएका हुन् ।

चिनिया राष्ट्रपति सि चिनफिङको औपचारिक निमन्त्रणामा सांघाई सहयोग सङ्गठन (एससीओ) को २५ औँ शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै १४ भदौमा चीन प्रस्थान गरेका थिए।

प्रतिनिधिमण्डलमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा.युवराज खतिवडा, नेपाली कांग्रेसका उपसभापति तथा सांसद पूर्णबहादुर खडका, नेकपा एमालेका सचिव तथा सांसद छविलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका अधिकारीहरू थिए ।

प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति चिनफिङबिच शनिबार द्विपक्षीय भेटवार्ता भएको थियो । उक्त अवसरमा प्रधानमन्त्री ओलीले नेपाल भूमि लिपुलेकमा नेपाललाई थाहै नदिई व्यापार नाका सञ्चालन गर्ने भनी चीन र भारतबीच भएको पछिल्लो सम्झौताप्रति आपत्ति प्रकट गरेका थिए ।

प्रधानमन्त्री ओलीले १६ भदौमा एससीओ शिखर सम्मेलनमा सम्बोधन गरेका थिए । प्रधानमन्त्री ओली बेइजिङमा आयोजित ‘चिनियाँ जनताको जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध र विश्व फासीवादविरुद्धको युद्ध’ को विजयोत्सवमा सहभागी भएका थिए।

चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले रुसी राष्ट्रपतिसँग पनि भेटवार्ता गरेका थिए ।

  • १९ भाद्र २०८२, बिहीबार ०७:१३ प्रकाशित