जापान ।
नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमालेभित्रको खलबली महाधिवेशनसम्मै जाने बताएका छन् ।
प्रवासी नेपाली एकता मञ्च जापानको टोकियोमा आइतबार भएको अधिवेशनलाई सम्बोधन गर्दै महासचिव भुसालले अहिलेका प्रमुख पार्टीको नेतृत्वलाई कुर्सीकै चिन्ता रहेको बताउँदै एमालेमा पनि विद्या भण्डारीले कुर्सी नै ताकेपछि उनको सदस्यता नवीकरण नभएको बताए ।
‘एउटा सदस्यता नवीकरण गर्यो । सदस्यता किन नवीकरण भयो भन्दा कुर्सी नै ताक्छिन् जस्तो लागेको थिएन रिन्यु गर्दा’, भुसालले भने, ‘अहिले कुर्सी नै ताक्छिनजस्तो भयो । त्यसले गर्दा सदस्यता गयो र राष्ट्रिय खलबली सुरु भयो ।’
उनले एमालेभित्रको यो खलबली महाधिवेशनसम्म जाने दाबी गरे ।‘एमालेभित्रको खलबली महाधिवेशनसम्म जाँदै छ । महाधिवेशनमा के हुने हो त्यसपछि एमाले भुमरीमा फस्ने सम्भावना छ’, उनले भने, ‘मामला हो कुर्सीकाप्रति अर्काले आँखा लगाएको हुनाले ।’
उनले माओवादीमा पनि त्यस्तै समस्या रहेको बताए ।















