सौर्य एयरलाइन्स दुर्घटना प्रतिवेदनप्रति मृतकका आफन्तको असन्तुष्टि

केन्द्रभाग मिडिया

सौर्य एयरलायन्सको विमान दुर्घटना

सौर्य एयरलाइन्स नाइनएन—एमइ, सिआरजे २०० वायुयान दुर्घटनामा तीन सन्तति गुमाएका प्रकाश खतिवडाले वायुयान दुर्घटना जाँचबुझको प्रतिवेदनमाथि असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बिहीबार प्रतिवेदनमाथि छलफल भएको हो । छलफलमा नेपालको १०९ वटा विमान दुर्घटनाको इतिहासमा सौर्य जहाजको दुर्घटना छुट्टै खालको भएको खतिवडाले बताए । उनले ह्युमन फ्याक्टरका कारण दुर्घटना भएको निष्कर्ष देखाइएकोमा सहमति जनाए ।

उनले सौर्य एयरलाइन्स, एरोड्रोन र नेविगेसनको कुरा प्रतिवेदनमा गरिएको तर क्यानलाई सेवा प्रदायक भनेर उल्लेख नगरिएकोप्रति आपत्ति जनाए । सेवा प्रदायक संस्थाको अनुमति दिने व्यक्ति जाँचबुझ समितिका संयोजक रतिशचन्द्रलाल सुमनको आफन्त भएकाले त्यो नखुलाइएको उनको आरोप छ ।

उक्त उडान, यात्रुहरू र एयरलाइन्स कम्पनीको हर्कत पनि अवैधानिक रहेको खतिवडाको भनाइ छ । ४ वर्षको नातिलाई किन सौर्य एयरलाइन्सको कर्मचारी बनाइयो रु भन्दै उनले प्रश्न गरे । ऊर्जा मन्त्रालयमा कार्यरत आफ्नी छोरीलाई समेत सौर्य एयरलाइन्सको कर्मचारी बनाएर उडाइएको उनले बताए ।

सरकारले छानबिनका लागि बनाएको जाँचबुझ आयोग समेत अवैधानिक रहेको बताए । प्रतिवेदन बनाउँदा अरूसँग अन्तर्वार्ता लिएको उल्लेख गरेपनि तीन सन्तति गुमाएको परिवारसँग कुनै सोधपुछ नगरिएको उनको भनाइ छ । प्रतिवेदनसमेत नियोजित रहेको उनको ठहर छ । पीडितका कुरा सुनियो भनेपनि न्याय पाएको अनुभूति हुने उनको भनाइ छ ।

उनले न्यायिक जाँच आयोग बनाएर अनुसन्धान गर्न माग गरे । न्याय र क्षतिपूर्तिको सुनिश्चित गर्न पनि जाँच आयोगको आवश्यक रहेको उनले बताए । तथ्य र प्रमाणले सौर्य जहाज दुर्घटना मात्रै नभएको स्पष्ट हुने उनको जिकिर छ । २०८१ को साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको थियो । जहाँ १८ जनाको ज्यान गएको थियो । दुर्घटनामा खतिवडाका ज्वाइँ, छोरी र नातिको निधन भएको थियो ।

  • २९ श्रावण २०८२, बिहीबार १४:२६ प्रकाशित