काठमाडौं।
चक्रे मिलन (मिलन गुरुङ) समूहका १९ जनाको मुद्दामा बुधवार थुनछेक बहस हुँदै छ । काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस हुन लागेको हो ।
सरकारी वकिल कार्यालय काठमाडौँले मंगलबार उनीहरू विरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दामा अभियोग पत्र दायर गरेको थियो । साउन १५ मा राजधानीको साम्बाला होटलबाट पक्राउ परेका १९ जनालाई प्रतिवादी बनाइएको छ ।
अभद्र व्यवहार सम्बन्धी कसुरमा १ वर्ष कैद र १० हजार जरिवाना सजाय गर्न मागदावी लिइएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका सहन्यायाधिवक्ता रामहरि काफ्लेले रातोपाटीलाई बताए । पटके कसुदारको हकमा थप सजाय मागदावी गरिएको छ ।
सरकारी वकिलले चक्रे, गणेश बहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दीप केसी, राहुल खड्का, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतिक लामा, चन्द्रदेव कार्की, जित बहादुर लामा, प्रकाश गोले, अमिर आले मगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार र सफल शाहीलाई प्रतिवादी कायम गरेको छ ।














