भूमि विधेयक पारितको प्रक्रियामा अघि बढ्यो संसदीय समिति

केन्द्रभाग मिडिया

काठमाडौं ।

भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक पारित गर्ने प्रक्रियामा संसदीय समिति अघि बढेको छ ।

विधेयक संशोधन राखेका सांसदहरूसँग र सरोकारवालाहरूसँग फास्ट ट्रयाकमा एकसरो छलफल गरेर प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति दफावार छलफलमा प्रवेश गरेको हो ।

भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि आजबाट दफावार छलफल छ । यो विधेयकमा ५५ वटा संशोधन परेका थिए । सत्तारुढ दल नेपाली कांग्रेसले समेत संशोधन राखेको छ ।

कांग्रेस महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, सांसद जीवन परियार, दिलेन्द्र बडू लगायतले भूमि विधेयकमा राखेको संशोधन प्रस्तावमा तीन तहको सरकारको अधिकार क्षेत्र र साझा अधिकार सूचीअनुसार विधेयकमा मिलाउनुपर्ने बताएका छन् । यसअघि सर्वोच्च अदालतले दिएका आदेश र फैसला हेर्नुपर्ने र नागरिक स्तरमा सरकारले भूमि विधेयक ल्याएर जग्गा वितरण गर्न लागेको भनेर परेका भ्रम चिर्नुपर्ने लगायतका विषय समेत राखेका छन् ।

प्रस्तावित विधेयकका कतिपय प्रावधानमा वन तथा वातावरण मन्त्रालयले नै आफ्नो असहमति दर्ज गरेको छ ।

  • २१ श्रावण २०८२, बुधबार ११:३० प्रकाशित