संकट रोक्न एकता गरि अघि बढौं : प्रचण्ड

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलन र पार्टीहरुमा बढ्दो संकट रोक्न नेकपा एकीकृत समाजवादी र माओवादीवादीबीच एकताको प्रस्ताव गरेका छन् । पछिल्ला दिनमा प्रचण्ड र माधव नेपालबीच भएका संवादमा प्रचण्डले यस्तो प्रस्ताव गरेका हुन् ।

तर एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भने हतारमा पार्टी एकता गर्न तयार देखिएका छैनन् ।सोमबार मात्र माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताहरुबीच लामो छलफल भएको थियो । त्यसको अघिल्लो दिन आइतबार पनि प्रचण्ड निवास खुमलटारमा प्रचण्ड र नेपालबीच संवाद भएको थियो ।

‘अहिले तपाईं हामी सबैलाई क्राइसिस छ, हामी मिल्यौं भने यो क्राइसिसको सामना गर्न सहज हुन्छ,’ प्रचण्डले माधव नेपालसँगको संवादमा भन्ने गरेका छन् ।

तर नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालाले दुई नेताबीच पार्टी एकताबारे औपचारिक रुपमा छलफल नभए पनि अनौपचारिक रुपमा कुराकानी हुनु स्वाभाविक रहेको बताए । ‘औपचारिक रुपमा एकताका लागि छलफल भएको छैन । तर नेताहरुबीचको भेटवार्तामा पार्टीभित्रका समस्या र कम्युनिस्ट आन्दोलनका सवालमा कुरा हुनु स्वभाविक हो,’ ज्वालाको भनाइ छ ।

स्रोतका अनुसार प्रचण्डको प्रस्तावमा अध्यक्ष नेपालले भने पार्टीपंक्तिमा सल्लाह गरेर जवाफ दिने बताउने गरेका छन् ।उपाध्यक्ष प्रकाश ज्वालाले अहिले आफ्नो पार्टीको कसैसँग पनि एकताबारे ठोस कुरा नभएको बताए ।

  • १३ श्रावण २०८२, मंगलवार १६:१४ प्रकाशित