कुमुदिनीमा मनाईयो ‘हजुरबाआमा दिवस’

केन्द्रभाग मिडिया

पोखरा।

पोखरा वडा नं ४ मा रहेको गण्डकीकै प्रतिष्ठित विद्यालय कुमुदिनी होम्समा आज हजुरबुबा हजुरआमा दिवस विद्यार्थीका अभिभावक, हजुरबुबा हजुरआमासंगै मनाईएको छ ।

मन्टेश्वरी तथा कक्षा १, २ र ३ का विद्यार्थीहरुलाई उनीहरुका हजुरबुबा र हजुरआमासंगै विद्यालयको सभाहलमा अलग अलग कार्यक्रम गरेर दिवस मनाईएको हो । सो अवसरमा विद्यार्थीले नृत्य, नाटक प्रस्तुत गरेका थिए । हजुरबुबा हजुरआमालाई विभिन्न खेलमा सहभागि गराईएको थियो ।

विद्यालयक संस्थापक अध्यक्ष अशोक पालिखेले विद्यार्थीलाई सानै उमेरदेखि विभिन्न प्रकारका ज्ञानवर्धक अतिरिक्त क्रियाकलापमा संलग्न गराउँदा उनीहरुले थप ज्ञान हाँसिल गर्ने बताए । सानै उमेरबाट दिवसहरु, आफ्नो, संस्कार, संस्कृति, भित्री तथा बाह्य वातावरण, सामाजिक सेवा र सत्कार लगायतका विषयहरुमा घुलमिल गराउन सकियो भने असल मानिस बन्न र भविष्यमा त्यसले पहिचानको काम गर्ने बताए ।

जेठो पुस्ताबाट नयाँ पुस्तामा संस्कार, भाषा र परम्पराहरू हस्तान्तरण गर्न यस्ता दिवसहरूले महत्वपूर्ण भूमिका खेल्ने पालिखेले बताए ।

कार्यक्रमको आरम्भमा प्रि एक र दुईका विद्यार्थीद्वारा मन्त्रोच्चारण गरिएको थियो । सो अवसरमा विद्यार्थीले विभन्न प्रकारका नृत्य नाटक प्रस्तुत गरेका थिए ।

मन्टेश्वरी इन्चार्ज अमृता आलेले सहभागीहरुलाई स्वागत गर्दै हजुरबुबा हजुरआमा घर, समाजका पहिलो गुरु भएका बताईन् । उहाँहरुमा जीवन भोगाईका धेरै ज्ञानहरु हुन्छन् जो हाम्रा लागि मार्गदर्शक बन्न सक्छन् उनले भनिन् ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु मीना पालिखे, रश्मी पालिखे, कुशल पालिखे, आधारभूत तह इन्चार्ज सजनी माजु, नृत्य प्रशिक्षक सजिना गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

मन्टेश्वरीतर्फको कार्यक्रमको सञ्चालन शिक्षक निलम प्रधानले गरेकी थिइन् । त्यस्तै दोस्रो चरणमा प्राइमरी तर्फको कार्यक्रममा सम्पन्न भएको थियो । जसमा विद्यार्थीहरूको विभिन्न प्रस्तुति रहेको थियो।

कक्षा १ का विद्यार्थीहरूले राइम्स, ३ का विद्यार्थीहरूले पियानिका बजाएर आफ्ना अभिभावलाई खुसी पारेका थिए। आफ्ना अभिभावक र छोराछोरीको सामूहिक नृत्य र हजुरबाआमाहरूका विभिन्न खेलले कार्यक्रममा रौनक थपेको थियो । प्राइमरी तर्फको कार्यक्रम प्राइमरी इन्चार्ज कुसुम गुरुङले सञ्चालन गरेकी थिइन् ।

  • १२ श्रावण २०८२, सोमबार १७:१० प्रकाशित