काठमाडौं ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले मन्त्रालय अन्तर्गतका सबै विभाग तथा निकायलाई ढिलाइ नगरी तत्काल राहतको उपाय अबलम्बन गर्न निर्देशन दिएका छन् । सरकारद्वारा मधेस प्रदेशलाई सुख्खा सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएलगत्तै मन्त्री खड्काले सो निर्देशन दिएका हुन् ।
आज मन्त्रालयमा आयोजना गरिएको आपतकालीन उच्चस्तरीय बैठकमा मन्त्री खड्काले जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतका सचिवहरू सुरेश आचार्य एवं सरिता दवाडी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, सिँचाइ विभागका महानिर्देशक सञ्जीव बराल लगायत सहसचिव, उपसचिव तथा प्रविधिकहरूसँग छलफल गर्दै मधेस प्रदेशका आठ जिल्लामा सिँचाइ र खानेपानीको समस्या समाधानमा केन्द्रित हुन स्पष्ट निर्देशन दिए।
उनले सिँचाइका लागि डिप बोरिङ, सोलार पम्प, अस्थायी मोटर सेट तथा पाइपलाइन बिछ्याउनेजस्ता उपाय तत्काल सुरु गर्न निर्देशन दिए । साथै, खेतमा ढिलो रोपाइँ गर्नुपरे पनि कम पानीमा उच्च उत्पादन दिनसक्ने उन्नत जातका धानको बीउ तथा आवश्यक कृषि उपकरणहरू समेत किसानसम्म पुर्याउन सम्बन्धित निकायहरूलाई निर्देशन दिइएको छ।














