काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी बीच करिव २ घण्टा लामो भेटवार्ता भएको छ । भेटवार्तामा राष्ट्रिय राजनीतिका विषयमा केन्द्रित कुराकानी भएको भेटवार्ता पछि पूर्व राष्ट्रपति भण्डारीले प्रतिक्रिया दिएकी छन् ।
भेटवार्तापछि बाहिरिने क्रममा सञ्चारकर्मीले पार्टी सदस्यताको विषयमा राखेको जिज्ञासामा आफ्नो सदस्यता नवीकरण भइसकेको बताउँदै यस्तो प्रतिक्रिया दिएकी हुन् । ‘उहाँसंग मेरो राष्ट्रिय राजनीतिको बारेमा मात्रै कुराकानी भयो,’ भण्डारीले भनिन्, ‘मैले पहिल्यै नवीकरण गरेको छु । बाँकी काम आधिकारिक च्यानलबाट हुन्छ ।’
उनीहरूबीच एमाले मुख्यालय च्यासलमा एक्लाएक्लै भेटवार्ता भएको हो । एक्लाएक्लै छलफल भएको स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले जानकारी दिए । उनका अनुसार, पछिल्लो समसामयिक विषयमै केन्द्रित रहेर छलफल भएको बुझिएको छ । यद्यपि, छलफलका अन्य विषय बाहिर आएको छैन ।
ओलीसँगको वार्ता सकिएपछि पूर्वराष्ट्रपति भण्डारी निजी निवास भंगालतिर निस्किएकी हुन् । सक्रिय राजनीतिमा फर्किएको बताउँदै आफ्नो सेवा सुविधा समेत फिर्ता गरिसकेकी पूर्व राष्ट्रपति भण्डारी र ओलीबीचको वार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ ।














