माओवादी केन्द्रको चार महिने नयाँ कार्ययोजना साउन १ गतेदेखि कार्यान्वयन हुने

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले पार्टी संगठनलाई सुदृढ र प्रचार संयन्त्रलाई आक्रामक बनाउन एकसाथ महत्त्वपूर्ण निर्णयहरू गरेको छ। केही दिन अगाडि सम्पन्न माओवादीको पदाधिकारी बैठकले गरेको निर्णय कार्यान्वयनका लागि स्थानीय पार्टी कमिटीलाई परिपत्र गरिएको छ ।

जसमा विभिन्न विभाग र केन्द्रीय कार्यालयका बैठकहरूले नयाँ जिम्मेवारी बाँडफाँटदेखि चार महिने विशेष प्रचार कार्ययोजनासम्म पारित गरेका उल्लेख छ । पार्टी केन्द्रीय प्रचार तथा प्रकाशन विभागले आगामी २०८२ साउन १ देखि कार्तिक ३० सम्मका लागि चार महिने कार्ययोजना सार्वजनिक गरेको छ भने केन्द्रीय कार्यालयले पार्टी एकता प्रक्रियाबाट आएका २० जना नेताहरूलाई केन्द्रीय सदस्य र वैकल्पिक केन्द्रीय सदस्यको जिम्मेवारी तोकेको छ।

पार्टीका अध्यक्ष प्रचण्ड र विभागका प्रमुख अग्नि सापकोटाको उपस्थितिमा असार २३ गते बसेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागको बैठकले पार्टीका कामलाई जनतामाझ स्थापित गर्न र प्रतिस्पर्धीका गलत कार्यको भण्डाफोर गर्न विस्तृत कार्ययोजना अघि सारेको छ।

विभागका इञ्चार्ज अग्नि सापकोटाद्वारा जारी परिपत्रअनुसार प्रचार कामलाई व्यवस्थित गर्न विभिन्न समितिहरू गठन गरिएको छ। जसअनुसार सामाजिक सञ्जाल समन्वय समितिमा विश्वदीप पाण्डे, टेलिभिजन प्रसारण समितिमा बबिन शर्मा, पत्रपत्रिका समन्वय समितिमा दीपेन्द्र रावल, पत्रकारिता सम्बन्धी बाह्य माध्यम समन्वय समितिमा आस्था के।सी।, कर्णाली प्रदेश संयोजनमा दीपेन्द्र शर्मालाई तोकिएको छ ।

यस्तै कार्ययोजनामा पार्टीको आधिकारिक मुखपत्र प्रकाशन गर्ने, प्रदेश तहसम्म डिजिटल साक्षरता अभिमुखीकरण गर्ने, पालिका तहसम्म ‘आईसीटी कमिटी’ बनाउन आग्रह गर्ने र पार्टीको वेबसाइट तथा सामाजिक सञ्जाललाई नियमित अद्यावधिक गर्ने जस्ता कार्यक्रमहरू समावेश छन् ।

  • ३१ असार २०८२, मंगलवार १४:२६ प्रकाशित